एपीएफ स्कुलको खाताबाट करोडौँ रकम दुरुपयोगको आरोपः लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी पक्राउ

काठमाडौँ– कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कुलमा भएको करोडौं रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा विद्यालयकी लेखा प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ पक्राउ परेकी छन्। विद्यालयको बैंक खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरेको आरोपपछि उनलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार इन्स्पेक्टर गुरुङ र उनका साथी लीला लामा शनिबार ठमेलबाट पक्राउ परेका हुन्। उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरिरहेको थियो। सोही क्रममा प्राप्त विवरण र सशस्त्र प्रहरीको पत्राचारका आधारमा काठमाडौँ प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

उजुरीकर्ताहरूले विद्यालयको आधिकारिक बैंक खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा सारेर प्रयोग गरिएको दाबी गरेका छन्। आरोपअनुसार विगत चार वर्षको अवधिमा करिब ४ करोड ५० लाख रुपैयाँ व्यक्तिगत खातामा राखी दुरुपयोग गरिएको आशंका गरिएको छ। प्रारम्भिक छानबिनमा इन्स्पेक्टर गुरुङको भूमिका मुख्य देखिएको स्रोतहरूको भनाइ छ।

गुरुङ लामो समयदेखि विद्यालयको लेखा शाखामा कार्यरत थिइन्। सशस्त्र प्रहरी नायव निरीक्षक (सई) रहँदादेखि नै लेखा व्यवस्थापनमा संलग्न रहेकी उनी इन्स्पेक्टरमा बढुवा भएपछि पनि निरन्तर एउटै जिम्मेवारीमा कार्यरत रहेको बताइएको छ। पछिल्ला छ वर्षदेखि विद्यालयको आर्थिक प्रशासनसँग प्रत्यक्ष रूपमा जोडिएकी गुरुङमाथि छानबिन केन्द्रित भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले विद्यालयको पछिल्ला चार आर्थिक वर्षको बैंकिङ कारोबार विवरण झिकाएर आन्तरिक अनुसन्धान थालेको थियो। सो क्रममा विद्यालयको वित्तीय कारोबारमा असामान्य गतिविधि देखिएको आशंकापछि थप छानबिन अगाडि बढाइएको स्रोतको दाबी छ।

अनियमितता प्रकरणमा अन्य अधिकारीहरूको सम्भावित संलग्नतामाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ। सशस्त्र प्रहरीको कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमालसमेत छानबिनको दायरामा रहेको स्रोतले जनाएको छ। विद्यालयमा भएको भनिएको आर्थिक अनियमितताबारे जानकारी हुँदाहुँदै पनि संगठनलाई समयमै अवगत नगराएको आरोप उनीमाथि लागेको छ। यद्यपि यस विषयमा हमालको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

नेपाल एपीएफ स्कुल सशस्त्र प्रहरी बलको कल्याण कोषअन्तर्गत सञ्चालन हुँदै आएको शैक्षिक संस्था हो। संस्थाको आर्थिक स्रोत र खर्च व्यवस्थापनमा पारदर्शितामाथि प्रश्न उठिरहेका बेला यो प्रकरण बाहिर आएको हो।

यसअघि पनि विद्यालयको रासन व्यवस्थापनसम्बन्धी विषयमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै २०८२ मंसिरमा विभिन्न निकायमा उजुरी परेको थियो। त्यसबेला उठेका प्रश्नहरूको अन्तिम निष्कर्ष सार्वजनिक नहुँदै विद्यालयको वित्तीय कारोबारसँग जोडिएको नयाँ प्रकरण बाहिर आएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि बैंकिङ कारोबार, वित्तीय अभिलेख, खाताको विवरण तथा रकमको वास्तविक प्रयोगबारे अनुसन्धान जारी रहेको जनाएको छ। छानबिनबाट प्राप्त तथ्यका आधारमा थप व्यक्तिमाथि पनि अनुसन्धानको दायरा विस्तार हुन सक्ने संकेत प्रहरी स्रोतले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट