बीपी प्रतिष्ठानका बिरामी ‘डाइभर्ट’ गरेर निजीमा पुर्याउने सप्तरीकी २७ वर्षीया युवतिसहित १२ जना विचौलिया पक्राउ

विराटनगर– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पताल र मेडिकलतर्फ पठाएर अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

प्रतिष्ठानको इमर्जेन्सी क्षेत्रमै सक्रिय रहेका बिचौलिया समूहलाई नियन्त्रणमा लिएपछि सरकारी अस्पतालबाट बिरामी ‘डाइभर्ट’ गर्ने संगठित सञ्जालमाथि अनुसन्धान केन्द्रित भएको छ। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी र तिनका आफन्तलाई सस्तोमा औषधि उपलब्ध गराइदिने, छिटो उपचार गराइदिने तथा निजी अस्पतालमा सहज सेवा मिलाइदिने प्रलोभन देखाएर आर्थिक लाभ लिने गतिविधिबारे लगातार गुनासो आएपछि विशेष निगरानी सुरु गरिएको थियो।

सोही क्रममा प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधिमा संलग्न रहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये धरान–१८ का २७ वर्षीय निखिलकुमार चौधरी, सप्तरीको राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का हस्त श्रेष्ठ, धरान–१५ का सागर पोखरेल, मोरङ लेटाङ–३ का सानिम किराती, धरान–६ का मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का उमेश कुमार चौधरी, धरान–१७ का धिरोज निरौला, इटहरी–२ का रोहित मेहता र धरान–११ का विनोद भण्डारी रहेका छन्। अन्य दुई जनाको विवरण पनि अनुसन्धानमा समावेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ। घटनाले थप गम्भीर रूप त्यसबेला लियो जब यसअघि पक्राउ परेका झापाको दमक–१ निवासी ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा–४ निवासी २७ वर्षीय दीपक रामसँग बरामद सामग्रीबाट सम्भावित बिचौलिया सञ्जालको संकेत भेटियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार दीपक रामको साथबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई वटा भिजिटिङ कार्ड बरामद भएका छन्। त्यस्तै, उनीहरूको मोबाइल फोन परीक्षणका क्रममा विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्वीर, बिरामीको नाम, उमेर र रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएको सन्देश तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बरसमेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद प्रमाणका आधारमा प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल, मेडिकल र अन्य स्वास्थ्य संस्थासम्म पु¥याउने सम्भावित नेटवर्क, त्यसमा एम्बुलेन्स चालक तथा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान तीव्र पारिएको डिएसपी खड्काले बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई आर्थिक प्रलोभन देखाएर निजी स्वास्थ्य संस्थातर्फ लैजाने बिचौलियाको गतिविधिबारे लामो समयदेखि गुनासो उठ्दै आएको थियो। पछिल्लो समय गृहमन्त्रीको प्रतिष्ठान निरीक्षणका क्रममा यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिएपछि प्रहरीले निगरानी बढाएको स्रोतको भनाइ छ।

प्रहरीले हाल पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा थप व्यक्तिको संलग्नता खुलेमा आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ। हालसम्म पक्राउ परेका व्यक्तिहरूको तर्फबाट सार्वजनिक प्रतिक्रिया प्राप्त भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट