ह्वील लकपछि पठाओ चालकको आत्मदाह प्रयास, ६५ प्रतिशत शरीर जल्यो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि एक पठाओ चालकले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि भएको घटनामा मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गणेश नेपाली पेसाले राइड सेयरिङ सेवा ‘पठाओ’ का चालक हुन्। उनले राहदानी विभागको ३ नम्बर गेट नजिक आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसक्रममा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्वील लक लगाएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार ह्वील लक लगाएपछि उत्पन्न विवाद र तनावका बीच नेपालीले आफूले प्रयोग गर्दै आएको मोटरसाइकलबाट पेट्रोल निकाली शरीरमा छर्केर आगो लगाएका थिए। घटना बिहीबार दिउँसो करिब १ः४५ बजे काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर भएको हो।

घटनास्थलमा खटिएको नेपाल प्रहरीले तत्काल आगो निभाएर नेपालीको उद्धार गरेको थियो। उनलाई उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पु¥याइएको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घाइतेको अवस्था गम्भीर रहेको बताए। उनका अनुसार नेपाली हाल उपचाररत छन् र सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्। ‘आत्मदाह प्रयासको कारण र घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने।

प्रत्यक्षदर्शी र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट महानगर प्रहरीद्वारा मोटरसाइकलमा ह्वील लक लगाएपछि नेपाली आक्रोशित बनेको खुलेको छ। यद्यपि घटनाको कारण ह्वील लक मात्रै हो वा अन्य कुनै कारण पनि जोडिएको छ भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा ट्राफिक तथा नगर प्रहरीको पछिल्लो सवारी व्यवस्थापन र कारबाही शैलीबारे पनि बहस सुरु भएको छ। तर काठमाडौँ महानगरपालिका वा नगर प्रहरीको तर्फबाट घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान गरी वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट