मजदुरीको पैसा माग्न गएका व्यक्तिको खुकुरी प्रहार गरी हत्या, एकै परिवारका तीन जना पक्राउ

खोटाङ — खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा मजदुरीबापतको पारिश्रमिक माग्न गएका एक व्यक्तिको खुकुरी प्रहारबाट मृत्यु भएको छ। यो घटनामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

घटनामा ३८ वर्षीय ध्रुव अधिकारीको ज्यान गएको छ भने हत्या आरोपमा ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहीबार याम्खास्थित मोरियामा भएको विवादका क्रममा अधिकारीमाथि खुकुरी प्रहार भएको थियो। गम्भीर चोट लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक अधिकारी मुख्य आरोपित तीलकबहादुर सार्कीको घरमा मजदुरी गर्दै आएका थिए। मजदुरीबापतको रकम माग्न सार्कीको घर पुगेका बेला दुवै पक्षबीच विवाद भएको र त्यसक्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

घटनापछि तीलकबहादुर सार्कीलाई तत्काल पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतका अनुसार मृतकका आफन्तले भोटीमाया सार्की र सीता सार्कीविरुद्ध समेत किटानी जाहेरी दिएपछि उनीहरूलाई शुक्रबार पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको हो।

प्रहरीका अनुसार अधिकारीको मृत्यु भएपछि तीलकबहादुर स्वयंले फोनमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा सोही विषयलाई लिएर विवाद चर्किएको प्रारम्भिक तथ्य फेला परेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण, अन्य व्यक्तिको संलग्नता र विवादको प्रकृतिबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक अधिकारीको शव परीक्षण सम्पन्न गरी परिवारको जिम्मा लगाइएको छ। इन्स्पेक्टर बस्नेतका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट