सिरहामा बेकरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ, नगद र पाँच थान मोबाइल बरामद
लहान — सिरहाको मिर्चैया नगरपालिका–६ स्थित एक बेकरी पसलबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले पसलबाट ब्राउन सुगर, नगद रकम र पाँच थान मोबाइलसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असार ३० गते राति करिब साढे ११ बजे मिर्चैया नगरपालिका–६ को कटारी चोक क्षेत्रमा लागुऔषध लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो।
मिर्चैया नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश श्रेष्ठले सञ्चालन गर्दै आएको बेकरी (केक) पसलमा खानतलासी गर्दा चार वटा साना कालो प्लास्टिकका टुक्राभित्र राखिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरेको तौल ७० मिलिग्राम रहेको प्रहरीको दाबी छ।
खानतलासीका क्रममा उक्त स्थानबाट नगद २२ हजार २५० रुपैयाँ तथा पाँच थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मिर्चैया नगरपालिका–८ जीवाटोल निवासी ३२ वर्षीय चन्द्रप्रसाद गिरी, मिर्चैया नगरपालिका–१ महादेवा टोल निवासी ३५ वर्षीय उमेश श्रेष्ठ तथा मिर्चैया नगरपालिका–६ निवासी २१ वर्षीय देवकुमार पासवानलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण अनुसन्धान सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

