मध्यरातमा घरको ढोका फोडेर प्रवेश गरी बलात्कार गर्न खोज्नेमाथि खुकुरी प्रहार
रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा एकल महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले खाँडादेवी गाउँपालिका–५ का तिलकबहादुर नेपालीलाई बलात्कार उद्योगको आरोपमा पक्राउ गरेको हो।
आरोपितले मध्यरातमा महिलाको घरको ढोका फुटाएर भित्र प्रवेश गरी बलात्कारको प्रयास गरेको आरोप छ। बलात्कार प्रयासको प्रतिकारका क्रममा महिलाले नेपालीमाथि खुकुरी प्रहार गर्दा उनी घाइते भएका थिए भने त्यसपछि फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटना सोमबार राति करिब २ बजे भएको हो। खाँडादेवी गाउँपालिका–५ पकरवासकी एक एकल महिलाको घरमा पुगेका नेपालीले ढोका फोडेर जबर्जस्ती प्रवेश गरेको र त्यसपछि महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार घरमा एक्लै बसिरहेकी महिलाले प्रतिकार गर्ने क्रममा नजिकै रहेको खुकुरी प्रयोग गरेकी थिइन्। खुकुरी प्रहारबाट नेपालीको बाँया हातको पाखुरामा चोट लागेको थियो। त्यसपछि उनी घटनास्थलबाट भागेका थिए।
घटनापछि पीडित महिलाले छिमेकीहरूलाई जानकारी गराएकी थिइन्। स्थानीयवासीमार्फत सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चोप्राङको टोली घटनास्थल पुगेको थियो। फरार आरोपितको खोजीका लागि परिचालित प्रहरी टोलीले बुधबार मन्थली नगरपालिका–१ क्षेत्रबाट नेपालीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कमल राउतका अनुसार पक्राउ परेका नेपालीविरुद्ध बलात्कार उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ। रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक प्रमाण संकलन, पीडितको बयान तथा अन्य पक्षहरूको विवरणका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ। आरोपितको तर्फबाट भने यस घटनाबारे सार्वजनिक प्रतिक्रिया प्राप्त भएको छैन।
प्रहरीका अनुसार अनुसन्धान पूरा भएपछि प्राप्त तथ्य र प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

