मिटरब्याज विवादमा एकै परिवारका चार जनामाथि सामूहिक आक्रमण
जनकपुर— सर्लाहीको बसबरिया गाउँपालिका–२ मा मिटरब्याजसँग जोडिएको पुरानो जग्गा विवाद हिंसात्मक बनेपछि भएको कुटपिटमा एकै परिवारका चार जना घाइते भएका छन्। पीडित पक्षका अनुसार रकम चुक्ता गरिसकेपछि पनि विवादित जग्गा फिर्ता नपाएको विषयमा उत्पन्न तनावका बीच स्थानीय व्यक्तिहरूको समूहले आक्रमण गर्दा मिटरब्याजविरुद्धको आन्दोलनमा सहभागी इन्दल सहनीसहित उनकी श्रीमती र दुई छोरा घाइते भएका हुन्।
घटनामा बसबरिया–२ निवासी इन्दल, उनका छोरा उमेश, मुना तथा श्रीमती भगवती कुमारी घाइते भएका छन्। उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पीडित पक्षले जनाएको छ।
पीडित परिवारका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको सुरक्षणका रूपमा २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो। साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने मौखिक सहमति भएको उनीहरूको दाबी छ।
सहनी परिवारले सुरुमा ६ लाख रुपैयाँ बुझाएको र त्यसपछि विभिन्न चरणमा थप रकम तिर्दै करिब १० देखि ११ लाख रुपैयाँसम्म साहु पक्षलाई उपलब्ध गराइसकेको जनाएको छ। उनीहरूका अनुसार विवाद समाधानका लागि वडा कार्यालयमा समेत छलफल भई जग्गा फिर्ता गर्ने सहमति भएको थियो। तर त्यसअघि नै ऋणदाता लक्ष्मी कुर्मी राउतको मृत्यु भएको बताइएको छ।
पीडित पक्षले त्यसपछि उनका छोरा बिलास साहले विवादित जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरेको आरोप लगाएको छ। रकम पूर्ण रूपमा चुक्ता गरिसकेपछि पनि आफ्नो जग्गा फिर्ता नपाएको र पछिल्लो करिब १० वर्षदेखि उक्त जग्गा आफूहरूले नै जोतभोग गर्दै आएको इन्दल सहनीको दाबी छ।
इन्दल सहनी हालै सम्पन्न ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ का सहभागीसमेत रहेका थिए। आन्दोलनबाट फर्किएपछि साहु पक्षले विवादित जग्गामा जबर्जस्ती धान रोप्न खोजेको र त्यसको विरोध गर्दा झडप भएको पीडित पक्षले जनाएको छ।
पीडित परिवारका अनुसार बिलास साहको नेतृत्वमा विशेषर साह, लक्ष्मण साह, जगदीश साह, रामप्रवेश साह तथा परिवारका अन्य सदस्यले उनीहरूमाथि सामूहिक रूपमा कुटपिट गरेका थिए। घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको बताइएको छ।
घटनाबारे आरोपित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। उनीहरूको धारणा सार्वजनिक भएलगत्तै समावेश गरिनेछ। मिटरब्याजसँग सम्बन्धित विवादका कारण मधेशका विभिन्न जिल्लामा लामो समयदेखि सामाजिक तथा कानुनी विवाद भइरहेका बेला सर्लाहीको यो घटनाले पुनः ऋणको सुरक्षणका रूपमा गरिएका जग्गा कारोबार, अनौपचारिक सहमति र त्यसको कार्यान्वयनमाथि प्रश्न खडा गरेको छ।
घटनाबारे प्रहरीमा जानकारी गराइएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको जनाइएको छ। स्थानीय प्रशासन तथा प्रहरी स्रोतबाट आधिकारिक धारणा आउन बाँकी छ।

