सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसीमा खस्यो, नदीमा खसेका तीन मध्ये जनाको पहिचान
सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान जारी राखे पनि नदीमा पानीको तीव्र बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट अनियन्त्रित भई सुनकोसी नदीमा खसेको हो।
प्रहरीले बेपत्तामध्ये दुई जनाको पहिचान खुलाएको छ। कार चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा र सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ निवासी अन्दाजी २७/२८ वर्षीय गणेश थापा रहेको पुष्टि भएको छ। गणेश थापा एक्स्काभेटर चालक हुन्। अर्का एक बेपत्ताको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध ठेकेदार हुन्। उनीहरू आयोजनास्थलमा काम सकेर खाना खान होटलतर्फ जाँदै गरेका बेला दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा परेको कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत प्रयोग भइरहेको सरकारी सवारी रहेको बताइएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर बससहित प्रहरी चौकी खाङसाङमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। साथै, नदीमा बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर परिचालन गरिएको भए पनि सुनकोसीको उच्च बहावका कारण उद्धार कार्य प्रभावित भइरहेको छ। प्रहरीले मौसम र नदीको अवस्थालाई ध्यानमा राख्दै खोजी अभियान निरन्तर जारी रहने जनाएको छ।

