सप्तरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो, राजविराज–बोदेबर्साइनमा पनि जनजीवन सामान्य बन्दै

राजविराज– सप्तरीका राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा अन्त्य गर्ने निर्णय सार्वजनिक गर्दै दुवै क्षेत्रमा जनजीवन सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख सीडीओ श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाको मूल्याङ्कनपछि साउन १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू निषेधाज्ञा पूर्ण रूपमा हटाइएको प्रशासनले जनाएको छ।

यसअघि सुनसरीको देवानगन्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावको प्रभाव सप्तरीसम्म फैलिएको थियो। त्यसपछि सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालयले राजविराज र बोदेबर्साइनका संवेदनशील क्षेत्रमा कर्फ्यु जारि गरेको थियो।

प्रशासनका अनुसार पछिल्ला दिनमा जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको, शान्ति–सुव्यवस्था कायम भएको तथा जोखिमको अवस्था न्यून भएपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो। सोमबारदेखि निषेधाज्ञा पनि हटाउने निर्णय गरिएको हो।

निषेधाज्ञा हटाइएपछि अब राजविराज र बोदेबर्साइन क्षेत्रमा आवतजावत, व्यापार–व्यवसाय तथा अन्य दैनिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न कुनै प्रशासनिक प्रतिबन्ध रहने छैन।

सीडीओ थापाले जारी गरेको सूचनामा जिल्लामा सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ। प्रशासनले सुरक्षा निकायलाई भने आवश्यक सतर्कता कायम राख्न निर्देशन दिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट