आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ, मध्येराति के आईलाग्यो त्यस्तो ?
काठमाडौँ— सरकारविरुद्ध आन्दोलन चर्काउने घोषणा गरेको केही घण्टामै मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
नेपाल प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुर र नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको संयुक्त टोलीले राति करिब साढे १० बजे भक्तपुरको निकोसेरास्थित घरबाट प्रसाईंलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि गरे। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्य खड्काले पनि सार्वजनिक शान्ति–सुरक्षा खलबल्याएको आरोपमा उनलाई पक्राउ गरिएको बताए। उनका अनुसार सोमबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई परिसरभित्र अन्य थुनुवासँग नराखी छुट्टै बालमैत्री कक्षमा राखिएको छ। प्रसाईंले आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत वर्तमान राजनीतिक व्यवस्था र प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको सरकारविरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका थिए।
उनले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको, नागरिकका आधारभूत अधिकार कमजोर बनाइएको तथा आफ्ना माग सम्बोधनका लागि संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलनमा उनले आफ्नो आन्दोलन कुनै धर्म वा समुदायविरुद्ध नभई राजनीतिक व्यवस्था परिवर्तनका लागि केन्द्रित रहेको दाबी गरेका थिए। पृथ्वीनारायण शाहको ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो’ भन्ने सन्दर्भ उल्लेख गर्दै उनले सरकार र सत्तापक्षले नक्कली सहमति र विभिन्न राजनीतिक प्रपञ्च रचेको आरोपसमेत लगाएका थिए।
प्रहरीले भने सार्वजनिक अभिव्यक्ति र त्यसपछिका गतिविधिका आधारमा शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रसाईं यसअघि पनि सार्वजनिक शान्ति–सुरक्षासम्बन्धी विभिन्न मुद्दामा पक्राउ परेर कानुनी प्रक्रियापछि रिहा हुँदै आएका छन्। यसपटक पनि उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

