भोटेकोसी बाढीपछि सप्तरी, उदयपुर र सर्लाहीका तीन इन्जिनियर सम्पर्कविहीन
राजविराज— बुधबार बिहान रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि सप्तरी, उदयपुर सर्लाहीका तीन इन्जिनियर सम्पर्कविहीन भएका छन्। हरिवन नगरपालिका–५ घुर्कौलीका इन्जिनियर सुनिल कुशवाहा, सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका इन्जिनियर अजय कुमार यादव र उदयपुरका प्रेस चौतारीका संस्थापक अध्यक्ष लिलाप्रसाद निरौलाकी छोरी इन्जिनियर रिचा निरौला बाढीपछि सम्पर्कमा नआएको परिवार तथा उनीहरूका आफन्तले बताएका छन्।
कुशवाहा फेवा कन्स्ट्रक्सनअन्तर्गत त्रिशूली हाइड्रोपावर थ्रीबीमा कार्यरत रहेको परिवारका सदस्यले बताएका छन्। बाढी आएपछि उनको मोबाइल फोनसमेत बन्द रहेको र हालसम्म सम्पर्क हुन नसकेको सर्लाही घर भएकी नेकपाकी नेता आरती लामाले जानकारी दिएकी छिन्। परिवारले कुशवाहाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय र सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।
त्यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया स्थायी घर भएका इन्जिनियर अजय कुमार यादव पनि बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। उनी रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा कार्यरत थिए र बेत्रावतीमा बस्दै आएका थिए।
परिवारका अनुसार यादवसँग उनकी बुहारी सुरेखाको बुधबार बिहान करिब साढे ८ बजे अन्तिमपटक कुराकानी भएको थियो। त्यसपछि उनीसँग सम्पर्क हुन सकेको छैन। परिवारले विभिन्न माध्यमबाट खोजी गरिरहेको जनाउँदै उनको अवस्था पत्ता लगाउन खोजी तथा उद्धारमा सहयोग गरिदिन अपिल गरेको छ।
यादवका परिवारले सार्वजनिक गरेको विवरणमा उनी हालसम्म सम्पर्कमा नआएको र परिवार सुखद खबरको प्रतीक्षामा रहेको उल्लेख छ। उनी सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका स्थायी बासिन्दा हुन्।
यता निर्माणाधीन अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर रिचा निरौला पनि बुधबार बिहानको बाढीपछि सम्पर्कविहीन भएको जानकारी सार्वजनिक भएको छ। विराटनगरका बाबुराम भण्डारीमार्फत सार्वजनिक गरिएको विवरणअनुसार निरौला प्रेस चौतारी नेपाल, उदयपुरका संस्थापक अध्यक्ष लिलाप्रसाद निरौलाकी कान्छी छोरी हुन्।
उनी निर्माणाधीन अपर त्रिशूली–२१६ मेगावाट आयोजनामा कार्यरत रहेको बताइएको छ। बाढीपछि उनको अवस्थाबारे जानकारी नआएपछि आफन्त तथा परिचितहरूले खोजीमा सहयोग गर्न सार्वजनिक रूपमा आग्रह गरेका छन्।
बुधबार बिहान रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। बाढी त्रिशूली नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा फैलिँदा विभिन्न स्थानमा कार्यरत सर्वसाधारण, कर्मचारी तथा प्राविधिकसमेत सम्पर्कविहीन भएका छन्।
बाढीबाट जलविद्युत् आयोजना, सडक, पुल तथा आसपासका बस्तीमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला आयोजनामा कार्यरत प्राविधिक तथा इन्जिनियरहरू सम्पर्कविहीन भएको खबरले उद्धार तथा खोजी कार्य थप जटिल बनेको छ।
सम्पर्कविहीन रहेका तीनै इन्जिनियरको अवस्थाबारे सम्बन्धित परिवार तथा आफन्तले खोजी तथा उद्धारका लागि सहयोगको अपिल गरेका छन्। उनीहरू जीवित वा मृत रहेकोबारे भने हालसम्म कुनै आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।

