भोटेकोशीको बाढीबीच सीमानामा अर्को खतरः २० लाख घनमिटरको ताल, तीन दिनमा फुट्ने चेतावनी
काठमाडौँ– भोटेकोशीमा आएको वाढिले नेपालका आधा दर्जन जिल्लामा चिहिलविहिल भईरहेका वेला नेपाल–चीन सीमावर्ती क्षेत्रमा हिमपहिरोका कारण बनेको अस्थायी तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिन थालेपछि चीनले तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम औंल्याएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपालतर्फको पुरेपु त्याङ्कपो खोला र चीनतर्फको छोचेन खोलाको दोभान नजिक बनेको उक्त तालमा आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी संकलन भएको जनाएको छ। पानी तालबाट बाहिर बग्न थाले पनि आगामी दिनमा थप पानी जम्मा हुने भएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम कायम रहेको चिनियाँ अधिकारीहरूको आकलन छ।
चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का अनुसार हिमपहिरो तथा पहिरोका कारण बनेको उक्त जलाशयमा पानीको मात्रा तीव्र रूपमा बढ्न सक्ने र त्यसले ताल फुट्ने जोखिम निम्त्याउन सक्ने भएकाले चिनियाँ पक्षले अवस्थालाई निरन्तर निगरानीमा राखेको छ।
सम्भावित जोखिमको आकलन गर्न चिनियाँ जलस्रोत मन्त्रालयले तालको विकासक्रममाथि निगरानी गर्नुका साथै ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावबारे बाढीको ‘मोडलिङ’, सिमुलेशन र विश्लेषण गरिरहेको जनाएको छ। सम्भावित आकस्मिक अवस्था आएमा उद्धार तथा राहत परिचालन गर्न आवश्यक तयारीसमेत अघि बढाइएको चिनियाँ विवरणमा उल्लेख छ।
चिनियाँ पक्षका अनुसार नेपालतर्फबाट सुरु भएको लेदोसहितको ठूलो पहिरो तथा बाढीको प्रभाव सीमापारि चीनको सिजाङ स्वायत्त क्षेत्रसम्म पुगेको छ। त्यसको असर विशेषगरी जिरोङ नाका अर्थात् केरुङ क्षेत्रमा परेको बताइएको छ।
भौगोलिक रूपमा कठिन क्षेत्रमा निरन्तर वर्षा भइरहेका बेला थप विपद्को सम्भावनासमेत रहेकाले चीनले उद्धार तथा व्यवस्थापनका लागि विभिन्न निकाय परिचालन गरेको छ। जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरू उद्धार र पूर्वतयारीमा खटिएका छन्। चिनियाँ अधिकारीहरूले विमान, उद्धार उपकरण तथा राहत सामग्रीसमेत परिचालन गरी प्रभावित क्षेत्रमा काम अघि बढाइरहेका छन्।
यसअघि भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। चिनियाँ विवरणअनुसार उक्त घटनामा चीनतर्फ हालसम्म तीन जनाको मृत्यु भएको छ भने ५५८ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।
यसबीच सीमावर्ती क्षेत्रमा बनेको नयाँ तालका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै चिनियाँ पक्षले पानीको सतह, बहाव र तालको संरचनात्मक अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमानले जोखिम व्यवस्थापन र पूर्वसूचना प्रणालीलाई थप संवेदनशील बनाएको चिनियाँ अधिकारीहरूको विवरणबाट देखिन्छ।
चिनियाँ जलस्रोत मन्त्रालयले सम्भावित बाढीको प्रभावबारे प्राविधिक विश्लेषण गरिरहेको भए पनि ताल पूर्ण रूपमा फुट्ने वा नफुट्नेबारे तत्काल कुनै निश्चित निष्कर्ष सार्वजनिक गरेको छैन। अहिलेको प्राथमिकता तालमा पानी जम्मा हुने क्रम, बाहिरिने बहाव र त्यसबाट तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावको निरन्तर मूल्यांकन रहेको चिनियाँ पक्षले जनाएको छ।

