मन्त्री परिषदले निर्णय गरेर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

काठमाण्डौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता भएको छ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको थियो।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निगमका कार्ककारी निर्देशक उमेशप्रसाद थानीलाई बोलाएर सरकारलाई जानकारी नै नदिइ मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि जनाए।
उनले मूल्यवृद्धि फिर्ता लिन वा पुनरावलोकन गर्न थानीलाई निर्देशन दिएका थिए। पछि मन्त्रिपरिषद् बैठकले समेत मूल्यवृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो। निगमले सूचना जारी गरेर पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम भएको घोषणा गर्ने बताइएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। यस्तै हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर १.०३५ अमेरिकी डलर मूल्यवृद्धि भएको थियो।
मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर अधिकतम १८५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर अधिकतम १७९ रुपैयाँ पुगेको थियो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको थियो।