सिरहाको कार्यक्रममा अबरोध भएपछि शिक्षामन्त्री पोखरेल भागे, फेसवुकबाट दिए प्रतिक्रिया

राजविराज— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आफनै्र स्थानीय नेता–कार्यकर्ताले अबरोध र होहल्ला गरेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सिरहामा आयोजित अन्तरक्रिया कार्यक्रम छोडेर हिँडेका छन्।

औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेल बोलिरहेका बेला दुई जना व्यक्तिले होहल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेको भन्दै आफूहरू कार्यक्रमबाट बाहिरिएको मन्त्री पोखरेलले बताएका छन्।

मन्त्री पोखरेलका अनुसार सिरहा र सप्तरीमा विद्यालय तथा क्याम्पस तहमा पुगेर राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि विद्यार्थी, शिक्षक र अभिभावकबाट सुझाव सङ्कलन गर्ने क्रममा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहेको उनको भनाइ छ।

कार्यक्रममा आफूले बोलिरहेका बेला दुई जना व्यक्ति आएर हल्ला गरेपछि बाँकी सहभागीको संवाद प्रभावित हुने अवस्था बनेको पोखरेलले सामाजिक सञ्जालमार्फत बताएका छन्। ‘दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं,’ उनले लेखेका छन्।

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको छोटो भिडियोप्रति पनि मन्त्री पोखरेलले आपत्ति जनाएका छन्। एक मिनेटभन्दा कम अवधिको भिडियो क्लिप मात्र काटेर सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने र भ्रम फैलाउने प्रयास भएको उनको दाबी छ।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताएका छन्। ‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन,’ पोखरेलले भनेका छन्।

मन्त्री पोखरेलले आफूहरू मधेश प्रदेशमा राजनीतिक कार्यक्रमका लागि नभई विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले सुझाव सङ्कलन अभियानमा रहेको बताएका छन्।

उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका क्रममा आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’जस्ता अवधारणा समेट्ने विषयमा विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद भइरहेको छ।

कार्यक्रममा अवरोध भए पनि त्यसले आफूहरूको शिक्षा सुधार अभियान प्रभावित नहुने पोखरेलले बताएका छन्। घटनापछि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेको र विद्यार्थीहरूसँग संवाद गरेको उनले जानकारी दिएका छन्।

उनका अनुसार उक्त दिन मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको थियो। मन्त्री पोखरेलले मधेश प्रदेशमा रास्वपाको बढ्दो राजनीतिक प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि रहे पनि त्यसलाई कार्यक्रम अवरोध वा भ्रम फैलाउने माध्यम बनाउन नहुने बताएका छन्।

‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भनेका छन्, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयम्ले गर्नेछन्।’

सुझाव सङ्कलन अभियानअन्तर्गत मन्त्री पोखरेल नेतृत्वको टोली मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेको छ। सिरहा र सप्तरीमा विद्यार्थी, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गरिसकेपछि टोली मोरङतर्फ जाने कार्यक्रम रहेको मन्त्री पोखरेलले बताएका छन्।

घटनाका क्रममा कार्यक्रमस्थलमा वास्तवमा के–कसरी होहल्ला भएको थियो, सहभागी व्यक्तिहरूको पहिचान र उनीहरूको आपत्तिको विषय के थियो भन्नेबारे भने मन्त्रीको सार्वजनिक प्रतिक्रियामा विस्तृत विवरण खुलाइएको छैन। त्यसैले सामाजिक सञ्जालमा सार्वजनिक भएको छोटो भिडियोभन्दा बाहिरको सम्पूर्ण घटनाक्रम र कार्यक्रमका सहभागी पक्षको धारणा स्पष्ट हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट