सीआईबीले महरालाई प्रतिवादी नबनाउने नै भयो, कागज गराएर छोड्यो

काठमाण्डौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रतिवादी नबनाउने भएको छ। सीआईबीले उनलाई कागज गरेर छोडेको छ।

महराका छोरा राहुललाई भने पक्राउ परेका छन्। तर सुन छुटाउन फोन गरेर दबाब दिएका कृष्णबहादुरलाई भने प्रतिवादी नबनाउनकै लागि सीआईबीले कागज मात्रै गराएर छाडेको हो।

इलेक्ट्रिक सिग्रेट (भेप) को ९ किलो सुन तस्करीमा बाबु छोराकै संलग्नता देखिएको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले यसअघि कागज समेत गराएको थिएन।

प्रतिवेदनमै महराबाबु छोराको चिनियाँ तस्करसँग सिधा टेलिफोन सम्पर्क देखिएको र भन्सारमा सुनसहितको भेप रोकिएपछि छुटाउन समेत दबाब दिएको प्रतिवादीको बयान समेत संलग्न गरेको थियो।

सीआईबीको अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता रहेको भन्ने उल्लेख भएसँगै महराबाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई दबाब परेको थियो। दबाबकै कारण राहुल भदौ १३ गते पक्राउ परे तर बाबुलाई अनुसन्धान नगरी कागज मात्रै गराइएको हो।

चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११ दशमलव ५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो। तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।

चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका हुन्। त्यस क्रममा चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराका बाबु छोराको पटकपटक सम्पर्क देखिएको छ।

कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्।

सोही बयान समेतका आधारमा महरा बाबुछोराको कनेक्सन देखिएपछि सीआईबी उक्त मुद्दामा पुन अनुसन्धान गर्न बाध्य भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट