३ वर्षीया बालिकाको बलात्कारपछि हत्याः दुई नाबालक बाल सुधारगृहमा, परिवारलाई २ लाख अन्तरिम क्षतिपूर्ति
जनकपुर– बाराको जितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दायर मुद्दामा बारा जिल्ला अदालतले पक्राउ परेका दुई नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ।
बुधबार जिल्ला अदालतको १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीले थुनछेक आदेश गर्दै मुद्दाको थप पुष्टयाइँ नहुन्जेल दुवैलाई बाल सुधारगृहमा राख्न आदेश दिएका हुन्। अदालतले पीडित परिवारलाई सरकारी पीडित राहत कोषबाट २ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।
नाबालकमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोगमा मुद्दा दायर भएको हो। अदालतका श्रेस्तेदार राजकुमार दाहालका अनुसार प्रतिवादीबाट तत्काल क्षतिपूर्ति दिलाउन सक्ने अवस्था नदेखिएपछि इजलासले अन्तरिम क्षतिपूर्तिका रूपमा सरकारी पीडित राहत कोषबाट रकम उपलब्ध गराउने आदेश गरेको हो।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका अन्य सात जना भने बालिग अभियुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरूको हकमा पक्राउ परेको २५औँ दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी छ। जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर तथा अनुशन्धान अधिकृत विमल खतिवडाले सातै जना बालिग आरोपीविरुद्धको अनुसन्धान प्रतिवेदन केही दिनमै सरकारी वकिल कार्यालयमा पेस गरी अभियोजनका लागि पठाइने बताए।
नाबालकको हकमा भने कानुनले हिरासतमा राखी अनुसन्धान पूरा गरेर २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्ने व्यवस्था गरेको छ। सोही कानुनी व्यवस्थाअनुसार प्रहरीले दुई नाबालकको अनुसन्धान प्रतिवेदन पहिले नै सरकारी वकिल कार्यालयमा बुझाएको र सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता भएपछि बुधबार थुनछेक आदेश भएको खतिवडाले बताए।
अदालतमा मुद्दाको बहस भइरहँदा पीडित बालिकाका बुवाआमा पनि उपस्थित थिए। बालिका गत साउन ३१ गते घरबाट हराएकी थिइन्। खोजीका क्रममा भदौ २ गते उनको शव फेला परेको थियो। घटनापछि बालिकाको न्यायको माग गर्दै बारा, रौतहट, पर्सा र काठमाडौंमा एक सातासम्म आन्दोलन भएको थियो।
बालिकाको शव फेला परेपछि न्यायको माग चर्किंदै गएपछि सरकार र पीडितका बुवाआमाबीच तीनबुँदे सहमति भएको थियो। उक्त सहमतिपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो। अदालतले अहिले दुई नाबालकको हकमा पुर्पक्षका लागि सुधारगृह पठाउने आदेश गरे पनि उनीहरूमाथिको आरोप अदालतबाट अन्तिम रूपमा पुष्टि भएको भने होइन।
मुद्दाको थप न्यायिक प्रक्रियापछि आरोपको तथ्य र प्रतिवादीहरूको संलग्नताबारे अदालतबाट निर्णय हुनेछ। यसबीच सात जना बालिग आरोपीविरुद्धको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सबै आरोपीको भूमिकाबारे अनुसन्धान र अदालतमा हुने प्रक्रियाबाट थप तथ्य खुल्नेछ।
लोकप्रिय
ताजा अपडेट
३ वर्षीया बालिकाको बलात्कारपछि हत्याः दुई नाबालक बाल सुधारगृहमा, परिवारलाई २ लाख अन्तरिम क्षतिपूर्ति


