तपाईलाई थाहा छ महात्मा गान्धीको धोतीको रहस्य ?

‘गान्धी जस्ता राजद्रोही, मध्यम स्तरका वकिल अर्धनग्न रूपमा शाही महलको सिँढी चढेर राजाका प्रतिनिधि सरहको स्तरमा कुराकानी गर्नु एकदमै खतरनाक र घृणास्पद थियो।’ ब्रिटेनका तत्कालीन प्रधानमन्त्री चर्चिलको यो अभिव्यक्ति इतिहासमा सुरक्षित छ।

यो त्यति बेलाको कुरा हो जुन बेला गान्धी सन् १९३१ मा ब्रिटेनका राजा जोर्ज पाचौँको बोलावटमा बकिङ्घम दरबार गएका थिए। त्यति बेला गान्धीले छोटो धोती लगाएका थिए जसलाई अङ्ग्रेजहरूले लँगौटी भन्ने गर्थे।

महात्मा गान्धीमाथि थुप्रै पुस्तक लेखेका तुषार गान्धीलाई लाग्छ कि अङ्ग्रेजविरुद्ध रणनीतिकै रूपमा गान्धीले छोटो धोती लगाएका थिए।

उनी भन्छन्, ‘अङ्ग्रेजहरूलाई बानी परिसकेको थियो कि जब कोही भारतीय नेता उनीहरूलाई भेट्न आउँथे उनीहरू अङ्ग्रेजहरूकै तौरतरिका अनुसार आउँथे। अङ्ग्रेजहरूलाई त्यस्तो गरेको सजिलो लाग्थ्यो। जब गान्धीले त्यसो गरेनन् अङ्ग्रेजलाई तनाव भयो– ’यसले त हामी जस्तो देखिने कोसिस पनि गरेको छैन।’ गोलमेच सम्मेलनमा पनि राजाको अगाडि अर्धनग्न अवस्थामै गान्धी बस्दा उनीहरू अचम्ममा परेका थिए। गान्धी त्यति बेला एउटा मनोवैज्ञानिक खेल पनि खेलिरहेका थिए। वार्ताका बेला मनोवैज्ञानिक खेल पनि खेल्नुपर्छ।”

गान्धीका पुराना तस्वीरहरूमा उनलाई सुटबुटमा देख्न सकिन्छ। तर पछि उनी गुजरातको कठियावाडी लुगामा देखिए। पछि देश–विदशमा आफैँमा एउटा प्रतीक बन्न पुगेको गान्धीको छोटो धोती कसरी अस्तित्वमा आयो?

यो सन् १९२१ को कुरा हो जति बेला गान्धी तामिलनाडुस्थित मदुराईमा थिए। त्यति बेलासम्म उनले निर्णय गरिसकेका थिए कि उनले केवल स्वदेशी कपडा मात्रै लगाउनेछन्। विदेशी कपडा जलाउने उनको आह्वान एउटा आन्दोलन नै बनिसकेको थियो।

तामिलनाडुमा रेल यात्राका क्रममा जब उनी अन्य रेल यात्रीहरूसँग कुरा गर्दै थिए उनले थाहा पाए धेरैजसो गरिबसँग पैसा छैन। त्यसैले उनीहरू पुरानो कपडा जलाएर खादीको नयाँ कपडा किन्न सक्दैनन्।

छोटो धोती मात्रै लगाउने गान्धीको निर्णय
आफ्नो रेल यात्राको बारेमा गान्धीले लेखेका छन्, “मैले रेलको भिडमा देखेँ – मानिसहरूलाई स्वदेशी आन्दोलनसँग कुनै मतलब छैन। उनीहरूले विदेशी कपडा लगाएका थिए। जब मैले कुराकानी गरेँ उनीहरूलाई महँगो खादी किन्न सम्भव नभएको थाहा पाएँ। मैले त्यति बेला टोपी, पूरा धोती र कमिज लगाएको थिएँ। त्यस्तोमा मैले उनीहरूलाई के भन्न सक्थेँ र? त्यति नै बेला मलाई लाग्यो कि मैले जे लगाइरहेको छु त्यो लुगा त्यागिदिन्छु र यिनीहरू जस्तै बन्छु। त्यसको भोलिपल्टै मदुराईमा भएको बैठकपछि मैले आफूले लगाउँदै आएको लुगा त्यागेँ।”

सन् १९२१ को सेप्टेम्बर २२ तारिखमा गान्धीले आफूले लगाउने गरेको लुगा छोडेर केवल छोटो धोती र एउटा पछ्यौरा मात्रै प्रयोग गर्न थाले।

तुषार गान्धी यस्तो परिवर्तन महात्मा गान्धीमा अचानक नआएको बताउँछन्।

उनी भन्छन्, “जति बेला गान्धीजी वकालत गर्न इङ्गल्यान्ड गए त्यति बेला उनले आफ्ना लागि सुट सिलाएका थिए। उनले आफ्नो आत्मकथामा लेखेका छन् सुरुमा उनी आफूले लगाउने लुगालाई लिएर एकदमै सचेत रहन्थे। इङ्ग्ल्यान्डमा उनले आकर्षक सुट, ह्याट लगाउन थालेका थिए। जब उनी दक्षिण अफ्रिका गए त्यसपछि भने त्यहाँका वकिल जस्तै कपडा लगाउन थाले। त्यहाँ बस्दै जाँदा जब उनी फरकफरक मुद्दालाई लिएर सत्याग्रह गर्न थाले त्यति बेला नै गान्धीले बिस्तारै आफूले लगाउने लुगामा परिवर्तन गर्न थाले। त्यति बेलादेखि नै उनी आफ्नो जीवनमा कमभन्दा कम सामानहरू प्रगोग गर्ने गर्न थाले।“

लुगाबाट सन्देश दिन सकिने विषयको महत्व गान्धीलाई थाहा थियो।

तुषार गान्धी भन्छन्, “दक्षिण अफ्रिकाको सत्याग्रहको अन्तिममा गान्धीमा पहिलाभन्दा धेरै परिवर्तन आएको देख्न सकिन्छ। उनले लामो कुर्ता र लुँगी लगाइरहेको देख्न सकिन्छ। भारतीय तामिलहरूलाई श्रद्धाञ्जलि दिँदा गान्धीले त्यहाँ सत्याग्रहमा यस्तो लुगा लगाएर उभिएका थिए। यो उनको तरिका हो।”

काठियावाडीदेखि धोतीसम्म
गान्धी भारत फर्किसकेपछि पनि उनले आफूमा थुप्रै परिवर्तन गरेको तुषार गान्धी बताउँछन्।

उनी भन्छन्, “गान्धी जब भारत आए उनी आफूलाई भारतीय देखाउनु थियो। सन् १९१५ मा उनले काठियावाडी लुगा लगाए – धोती, कुर्ता, गम्छा र अलि अर्कै खालको पगडी। गोखलेको सुझावमा जब उनी भारत भ्रमणमा निस्किए उनले भारतको स्थिति कस्तो छ भनेर थाहा पाउन सके। उनले केही परिवार लुगा नभएका कारण आधा लुगा मात्रै लगाएको अवस्थामा पनि देखे।

तुषार गान्धी भन्छन्, “जब गान्धीले मानिसहरूको त्यस्तो अवस्था देखे उनले आफ्नो पहिरनमा पनि परिवर्तन गर्दै गए। उनले केवल धोती र कुर्ता लगाउन थाले। यहीँबाट उनको लवाइमा परिवर्तन आउन थालेको हामी देख्न सक्छौँ। त्यसपछि त उनी तामिलनाडुमा केवल आधा धोतीमा मात्रै देखिए।”

गुजरातका वरिष्ठ लेखक तथा गान्धीमाथि अध्ययन गरेका उर्विश कोठारी गान्धीले आफ्नो लुगा परिवर्तन गर्ने निर्णय ’सेन्स अफ ड्रामा’ का कारण नगरेको बताउँछन्।

उर्विश कोठारी भन्छन्, “गान्धी सधैँ शान्त दिमागले सोच्थे र पहिला आफैँ त्यसको प्रयोग गर्थे। जब स्वदेशी आन्दोलन चलिरहेको थियो तब उनले सन् १९२१ को सेप्टेम्बर २२ तारिखमा आफू अब अक्टोबर ३१ तारिखसम्म केवल छोटो धोती वा लँगौटी लगाउने बताएका थिए। उनले त्यसै गरे।”

उर्विश कोठारी भन्छन्, “यो निर्णय व्यावहारिक थियो। गान्धीलाई महसुस भयो कि विदेशी लुगा जलाएर खादीको नयाँ लुगा किन्न मानिसहरू सक्दैन थिए। त्यसैले आधा धोती पर्याप्त हुन्छ भन्ने उनलाई लाग्यो।”

मदुराईमा जहाँ उनले पहिलो पटक छोटो धोतीमा मानिसहरूलाई सम्बोधन गरे त्यही ठाउँमा पछि गान्धीको मूर्ति बनाइयो।

ब्रिटेनका राजासँग धोतीमा भेट
सन् १९३१ मा गान्धी धोती लगाएर लन्डनमा गोलमेच सम्मेलनमा भाग लिन उपस्थित भए। त्यो कुरालाई केही पत्रिकाहरूले ’धोतीवाला’ गान्धी शीर्षकमा तस्बिर छापेर उनको खिसी गरेका थिए।

वरिष्ठ लेखक दयाशङ्कर शुक्ल सागरले बीबीसीका लागि लेखेको लेखमा भनेका छन्, “गान्धीले यसको जबाफमा– मैले यो लुगा लगाएको मानिसहरूलाई मन पर्दैन। यसको आलोचना हुन्छ। हाँसोमा उडाउँछन् । मलाई सोध्छन् किन म यस्तो लगाउँछु? जब अङ्ग्रेजहरू भारत जान्छन् के उनीहरू भारतीयले जस्तै लुगा लगाउँछन्? उनीहरू त यस्तो गर्दैनन्। मैले लँगौटी लगाउनका लागि लगाएको होइन। मेरो जीवनमा जस्तो परिवर्तन हुँदै आयो त्यसै अनुसार लुगा फेर्दै जाँदाको परिणाम यस्तो भएको हो।”

गान्धीका लागि यस्तो परिवर्तनको अर्थ के थियो?
उनले भनेका थिए– “मैले आफ्नो लुगा त्याग्न आवश्यक थियो। यो शोकको प्रतीक हो। हामी साँच्चै शोक मनाइरहेका छौँ किनभने अब वर्ष बित्न लागिसक्यो। तर हामीलाई हाम्रो स्वतन्त्रता मिलेको छैन।’ अङ्ग्रेजविरुद्धको लडाइँमा गान्धीको कदमको महत्त्वलाई उर्विश कोठारी यसरी सम्झाउँछन्।

उनी भन्छन्, “गान्धीजीले जब आफ्नो लुगा परिवर्तन गरे त्यो नै उनको पहिचान बन्यो। गान्धीले यस्तो सन्देश दिए– तिमीले जति नै कम कपडाले शरीर ढाके पनि त्यो स्वदेशी नै हो। स्वदेशी हो भनेर छुट्ट्याउने गान्धीको यो तरिका प्रभावकारी बन्यो। तर समय सँगसँगै मानिसहरूमा यो कुरा प्रतीकका रूपमा पनि अगाडि बढ्दै गयो– हाम्रा नेता हामी जस्तै छन् हामीले जस्तै लुगा लगाउँछन् र कुनै बनावटी कुरा उनमा छैन। यो गान्धीजीकै कुशलता थियो।”

तुषार गान्धी यो कुरालाई गान्धीको चतु¥याइँपूर्ण कदम मान्छन्। तुषार गान्धी भन्छन्, “गान्धीजीको सम्बोधन गर्ने वा बोल्ने तरिका त्यस्तो खास केही थिएन। तर उनी मानिसहरू आफूसँग जोडिन सकून् भन्ने चाहन्थे। यसो गर्दा आममानिससँग उनको दूरी कम भयो जुन अरूले गर्न सकेका थिएनन्। पहिला पहिला कङ्ग्रेस नेता अधिवेशनमा आउँदा ठाँटसहित आउँथे। उनीहरूको लुगाले उनीहरूको जात, वर्ष, कति धनी भन्ने देखिन्थ्यो। गान्धीले भने आफूले विगतमा लगाउने कपडा त्यागेर नयाँ वातावरण बनाइदिए।”

गान्धीमा ‘दम्भ’
तर दक्षिण अफ्रिका र घानामा केही मानिसले गान्धीमाथि आरोप लगाएका थिए। गान्धी दक्षिण एशियामा हुँदा उनी आफैँ भेदभाव गर्थे र नस्लवादी थिए।

दक्षिण अफ्रिकी विद्वान अश्विन देसाई र गुलाम वाहिदले सन् १८९३ देखि १९१३ सम्म लगभग २० वर्ष आफ्नो देशमा रहेका गान्धीबारे खोजेर किताब लेखेका थिए।

उनीहरूले आफ्नो किताब ’द साउथ अफ्रिकन गान्धीः स्ट्रेचर बियरर अफ एम्पाएर’ मा गान्धीले आफू दक्षिण अफ्रिकामा रहँदा भारतीयका लागि गरिएको सङ्घर्षलाई अफ्रिकाका मानिस वा अन्य अश्वेत मानिसको सङ्घर्षभन्दा छुट्टै राखेका थिए भनेर लेखेका छन्।

गान्धीको जीवनी लेखक तथा उनका नाति राजमोहन गान्धीले पटक पटक महात्मा गान्धी अफ्रिका पुग्दा उनी २४ वर्षका मात्रै रहेको र दक्षिण अफ्रिकाका अश्वेत मानिसलाई लिएर धेरै पटक दम्भ देखाउने र पूर्वाग्रह राख्ने गरेको बताएका छन्।

तर गान्धीले समयसँगै जीवनभरि लगातार आफूलाई परिवर्तन गरिरहेको राजमोहन गान्धी बताउँछन्।

लुगाले बनाएको पहिचान
जे होस् यही विषयमा फर्किने हो भने गान्धीको आफ्नो लुगा परिवर्तन गर्ने निर्णयबारे अङ्ग्रेजलाई जोडेर तुषार गान्धी भन्छन्, “अङ्ग्रेजहरूलाई लाग्यो कि यो मान्छेले जे गर्छ त्यसबारे हामीसँग कुनै जबाफ छैन र जसरी देखा पर्छ त्यसबारे पनि हामी केही उत्तर दिन सक्दैनौँ। ऊ खराब मान्छे हो पनि भन्न सकिँदैन। शाही निवासमा जब गान्धी आधा धोती लगाएर जान्छन् उनलाई त्यही कारणले फर्काउन त सकिँदैन र त्यो त हार हुनेछ। यदि भित्र बोलाउने हो भने सहनै प-यो। के गर्ने त.. कस्तो परिस्थिति थियो।”

हामीले विषय प्रवेश ब्रिटेनका राजाको महलबाट सुरु गरेका थियौँ जहाँ गान्धी आधा धोती अर्थात् लँगौटी लगाएर गएका थिए। जबकि त्यहाँ राजा जर्ज पाँचौँ भने पूरै राजसी ठाँटसहित उपस्थित भएका थिए।

राजासँग भेटेपछि जब गान्धी बाहिर निस्किए, ब्रिटेनका पत्रकारले उनलाई यस्तो प्रश्न गरे, “महोदय, तपाईँले ब्रिटेनका राजालाई भेट्न उपयुक्त हुने लुगा लगाउनुभएन कि भन्ने लाग्दैन?” गान्धी आफ्नो सवाल–जबाफका कारण पनि चिनिएका थिए।

त्यति बेला गान्धीले भनेका थिए, ’तपाईँ मेरो कपडाबारे चिन्ता नगर्नुहोस्। तपाईँको राजाले हामी दुवैलाई पर्याप्त हुने गरी कपडा लगाएका थिए।’ गान्धीको यो जबाफ सधैँभरिका लागि इतिहासको पानामा लेखिएको छ। चर्चित जीवनी लेखक रोबर्ट पाएनको शब्दमा भन्ने हो भने, “गान्धीको नग्नता सम्मानको प्रतीक बनिसकेको थियो।”
साभारः बीबीसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट