भारतसँग ७ विकेटले पराजित भएपछि रन्थनिएका पाकिस्तानी समर्थक बाबरको जर्सी प्रकरणले थप मर्माहत
राजविराज– आईसीसी एकदिवसीय विश्वकपमा भारतसँग ७ विकेटले पराजित भएपछि पाकिस्तानी क्रिकेट टिम सर्मसार छ। शनिवार अहमदाबादमा भएको खेलमा पाकिस्तानी ब्याट्सम्यान खासै चल्न सकेनन्।
कप्तान बाबर आजमले ५०, मोहमद रिजवानले ४९, इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । यो खेलपछि पाकिस्तानी खेलाडीले आफनै देशका नागरिकको आलोचना खेपीरहेका छन्।
त्यसमाथि टीमका कप्तान बाबर आजमको जर्सी प्रकरणले अर्को विवाद निम्त्याएको छ। लामो समयदेखि एक दिवसीय क्रिकेटको नम्बर वान वरियतामा रहेका उनले शनिवारको प्रतियोगितामा अर्धशतक बनाएका थिए।
खेल सकिएपछि बाबर र विराटको एउटा फुटेज बाहिर आयो। जसमा बाबरले भारतीय ब्याट्सम्यान विराट कोहलीको हातबाट भारतको जर्सी लिइरहेको देखिन्छ । भारतीय मिडियाले बाबरले विराटको अटोग्राफसहितको जर्सी उपहार मागेको भनेर प्रचार गरिरहेका छन् ।
पाकिस्तानीहरु बाबरलाई विराटका प्रतिस्पर्धी ब्याट्सम्यान ठान्छन्। एक दिवसीय वरियतामा नम्बर १ बाबरले विराटको हातबाट ‘फ्यानव्वाइ’ जसरी जर्सी उपहार लिइरहेको दृश्य उनीहरुलाई पचाउन गाह्रो परिरहेको छ।
हारको चोटले रन्थनिइरहेका पाकिस्तानी समर्थकहरु बाबरको यो प्रकरणले थप मर्माहत बनेका छन् । पाकिस्तानी च्यानल ए स्पोर्ट्समा जारी बहसका क्रममा एक फ्यानले यो विषय उठाएका थिए। ‘आमदर्शकको अगाडि देखाउनुको साटो ड्रेसिङ रुममा गरेको भए उचित हुन्थ्यो’ भन्दै उनले टिप्पणी गरेका छन्।
एक्सपर्ट प्यानलमा रहेका पाकिस्तानी लिजेन्ड वसिम अक्रमले पनि यसमा सहमति जनाए। ‘मैले पनि यो तस्वीर देखेपछि ठ्याक्कै यही भनेको थिएँ’, अक्रमले भने, ‘यो आज गर्ने काम होइन । यदि यस्तो गर्नु नै थियो भने, यदि तिम्रो चाचाको छोराले कोहलीको जर्सी चाहियो भनेको थियो भने म्याचपछि ड्रेसिङ रुममा मागेको भए हुन्थ्यो ।’

