आईपीएलको खुसीयालीमा मृत्युको सन्नाटाः आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० को मृत्यु

काठमाडौँ– १८ वर्षपछि पहिलो पटक आइपिएलको उपाधि जितेको खुसीयाली मनाउँदै गरेका समर्थकमाझ मंगलबार राति बेङ्गलुरुमा भागदौड मच्चिँदा कम्तीमा १० जनाको ज्यान गएको छ। चिन्नास्वामी स्टेडियम बाहिर भएको घटनामा १५ भन्दा बढी घाइते भएका छन्।

आरसीबी (रोयल च्यालेन्जर्स बेङ्गलुरु) को ऐतिहासिक जितको उत्सव मनाउन हजारौं समर्थक स्टेडियम परिसरमा जम्मा भएका थिए। तर, निर्धारित समयभन्दा ढिलो टोली पुग्दा भिड असहज रूपमा उर्लिएपछि त्रासदी निम्तिएको हो। भीडले ‘आरसीबी’ र ‘कोहली’ भन्दै चिच्याउँदै ट्रफी हेर्न धकेलाधकेल गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

केही मानिस रूखमा चढेका, हाँगामा बसेका र रेल स्टेशनबाट ओर्लंदै भीडमा मिसिन थालेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। अस्पतालमा भर्ना गरिएका घाइतेको उपचार भइरहेको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

कर्नाटक राज्य सरकारले सुरक्षाका कारण देखाउँदै पूर्वघोषित विजय जुलुस नै रद्द गरे पनि भिडलाई तितरबितर पार्न नसकिएको स्थानीय अधिकारीहरूले स्वीकार गरेका छन। उपमुख्यमन्त्री डीके शिवकुमारले घटनाले आफूलाई गहिरो चोट पुर्याएको बताएका छन्।

घटनाबारे उच्चस्तरीय छानबिन गर्ने संकेत राज्य सरकारले दिएको छ। यो घटना आरसीबीको ऐतिहासिक जितमाथि दुःखद कालो छायाँ बनेरको जानकारहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट