नेपाली क्रिकेटर ललित राजवंशीलाई मातृशोक, टप एण्ड टी–२० सिरिजमा शाहव आलम सहभागी

विराटनगर— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभकुमारी राजवंशीको आईतबार विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको छ।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उपचारपछि उनी सक्रिय जीवन बिताउँदै आएकी थिइन्।
छिमेकी राजकुमार विश्वासले बताएअनुसार शनिबार खाना खाएर सुतेकी शुभकुमारी आइतबार बिहान मृत फेला परेकी हुन। ‘शनिबार राति घरमा खाना र औषधि खाएर सुत्नुभएको थियो, तर भोलिपल्ट बिहान छोरीले उठाउन जाँदा मात्रै थाहा भयो,’ उनले भने।
शुभकुमारीको आइतबार नै सिंघिया खोलामा अन्त्येष्टि गरिएको छ। आमाको निधनको खबर पाएलगत्तै ललित विराटनगर आइपुगेका थिए।
यो घट्नासँगै अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजमा नेपालबाट ललितको ठाउँमा शाहव आलमले खेल्ने भएका छन्। नेपाल क्रीकेट संघ (क्यान) ले उनको ठाउँमा शाहवलाई टोलीमा राखेको हो। क्यानले यसअघि नै टप एण्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो।
अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। त्यसअघि क्यानले आज खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाइ गरेको हो। बिदाईमा शाहव सहभागी छन्।
नेपाली टीममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम छन्।