बलात्कार आरोप खेपेका सन्दीप लामिछाने टिमबाट वाहिरिएर धर्मकर्ममा

काठमाडौं– बलात्कार आरोपमा मुद्दा खेपीरहेका नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने टिमबाट वाहिरिएर अहिले धार्मिक स्थलमा घुमघाम गरिरहेका छ। उनी अहिले जारी त्रिदेशीय टी–२० सिरिजमा सहभागी छैनन् ।
सन्दीपले आफू कठिन अवस्थाबाट गुज्रिएकाले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट नाम फिर्ता लिएको घोषणासहित टिमबाट अलग भएका छन् । यद्यपि, नेपालले अब खेल्ने टी–२० विश्वकप क्वालिफायरमा भने उनी टीममा जोडिने अपेक्षा छ ।
नेपालले यूएई र हङकङसँग प्रतियोगिता खेलिरहँदा सन्दीप भने आफ्नो फुर्सदको समय आफन्त भेटघाट र तीर्थस्थल घुमघाममा विताईरहेका छन्। सामाजिक सञ्जालबाट आफ्ना गतिविधिहरुको अपडेट दिइरहेका छन् ।
सन्दीप आठ वर्षपछि आफ्नो मामाघर कुश्मामा पुगेका छन् । उनले मामाघरमा हजुरआमा, मामा र माइजूहरुसँगको फोटो फेसवुकमा शेयर गरेका छन्। त्यसपछि उनले तनहुँस्थित ढोलबाराही मन्दिर तथा बाग्लुङ कालिका मन्दिर दर्शन गरेको फोटो पनि फेसबुकमा राखेका छन्।
अदालतमा विचाराधीन मुद्दाका कारण तनावमा रहेका सन्दीप अदालतले लगातार पेशी सारिरहँदा थप तनावमा परेका छन् । यही तनावले गर्दा उनी तत्कालका लागि राष्ट्रिय टीमबाट अलग भएका हुन् । उनले वरु आफु जेल जान तयार रहेकाले मुद्दाको फैसला चाँडो गरिदिन आग्रह गर्दै आएका छन्।