पश्चिम नेपालमा ५१८ वर्षदेखि भूकम्पिय इनर्जी सञ्चित, टरेको छैन महाभूकम्पको जोखिम

काठमाडौं– जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ५७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा ४३९ वटा पराकम्प गएका छन्। जसमा सबैभन्दा ठूलो पराकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको थियो।

सामान्यतया पराकम्पहरू प्रमुख भूकम्पभन्दा १ इकाइ कम हुने गरेको छ। तर सोमबारको पराकम्प त्योभन्दा ठूलो थियो। योसहित ४३९ पराकम्प मध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा पराकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मंगलबार दिउँसो बाजुरालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पराकम्प गएको थियो। जुन जाजरकोट भूकम्प नभई एक महिनाअघि गएको बझाङ भूकम्पको पराकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

सामान्यतया साना भूकम्प र परकम्पले भूगर्भमा लामो समयदेखि सञ्चित इनर्जी बाहिरिने र तत्काल ठूला भूकम्पको जोखिमलाई कम गर्ने वैज्ञानिकहरू बताउँछन्। तर, भट्टराईले पश्चिम नेपालमा वर्षौदेखि ठूलो भूकम्प नगएका कारण स–साना परकम्प जाँदैमा महाभूकम्पको जोखिम कम भएको ठान्न नहुने बताए।

५ म्याग्निच्युडका ३२ वटा भूकम्प गयो भने मात्रै ६ म्याग्निच्युडको भूकम्प बराबरको इनर्जी बाहिरिने उनको भनाई छ। त्यसैगरी ७ म्याग्निच्युड बराबरको इनर्जी बाहिरिन ५ म्याग्निच्युडका हजार वटा भूकम्प जानुपर्दछ।

सन् १५०५ यता पश्चिम नेपालमा ठूला भूकम्प नगएका कारण जुनसुकै बेला त्यस क्षेत्रमा महाभूकम्प जान सक्ने चेतावनी वैज्ञानिकले दिँदै आएका छन्। ५ सय १८ वर्षअघि पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पले नेपालदेखि तिब्बतको ल्हासा र भारतको दिल्लीमा समेत क्षति पु-याएको थियो।

त्यसताका भूकम्पमा परेर तिब्बतको तात्कालीन राजाको समेत मृत्यु भएको थियो। दिल्लीको कुतुब मिनार भत्किएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट