सामाजिक सञ्जालमा अब गर्न पाईदैन यी १९ काम, पारित भयो निर्देशिका

काठमाडौं– सरकारले फेसबुक, टिकटक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता हुनु पर्ने ब्यवस्था गरेको छ। विहिबार वसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० पारित गर्दै यस्तो ब्यवस्था गरेको हो।

निर्देशिकामासामाजिक सञ्जाल प्लेटफर्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुनुपर्ने प्रावधान छ। सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना प्रकाशित हुने र त्यसको तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गरिसक्नु पर्नेछ।

सूचीकृत नभएका खाता कुनै पनि बखत बन्द गर्न सक्ने प्रावधान निर्देशिकामा छ। सरकारले यस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरुले कानुन विपरीतका सामाग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सो को पहिचान र यकिन गरी २४ घण्टाभित्र हटाउनुपर्ने प्रावधान राखेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) बनाउन रोक लगाइको छ। बेनामे वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु सेयर गर्ने वा टिप्पणी व्यक्त गर्न वा कल गर्न नपाइने व्यवस्था गरिएको छ।

‘कुनै समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारिरीक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न’ नपाइने व्यवस्था छ।

अरुलाई होच्याउने नियतले अपमानजक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली, बेइजती गर्ने कार्यलाई हेट स्पीचका रुपमा निर्देशिकाले व्याख्या गरेको छ।

‘हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ’, निर्देशिकाको स्पष्टीकरण खण्डमा राखिएको छ।

निर्देशिकाले डिजिटल माध्यमको प्रयोगबाट व्यक्तिको तस्बिर विकृत रुपमा परिमार्जन गरी प्रशारण गर्न, निजी मामिलाका फोटो÷भिडिओ अनुमतिबिना खिचेर प्रकाशन र प्रशारण गर्न, अश्लील शब्द, तस्बिर, भिडिओ, अडिओ एनिमेसन प्रशारण, प्रकाशन र टिप्पणी गर्न नहुने व्यवस्था गरेको छ। विभित्स तस्बिर, भिडिओ कुनै सन्दर्भबिना नै पोष्ट वा सेयर गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ।

यस्ता छन् सामाजिक सञ्जालमा गर्न नहुने काम
१. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न,

२. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न,

३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न,

४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न,

५. अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (स्पष्टीकरणः हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ)

६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न,

७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न,

८. अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न,

९. बालबालिकालाई हानी पु¥याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न,

१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न,

११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने,धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ),

१२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन,

१३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न,

१४. आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न,

१५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न,

१६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टर जस्ता कार्य गर्न,

१७. विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने,

१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न,

१९. प्रचलित कानुनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्न,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट