भुकम्प प्रभावित क्षेत्रमा भीआईपीको ताँती, ८ जना चिसोले मरिसक्दा चिरिदैन यिनको छाती

काठमाडौं– १७ कात्तिकको भुकम्पपछि त्यस क्षेत्रमा पुग्ने भीआइपीहरुको संख्या गनि नसक्नु छ। राष्ट्रपति रामचन्द्र पौडेल सेनाको हात समाउँदै र लौरो टेक्दै पुगे। भुकम्प पीडितको घाउमा मल्हम लगाउनु त परको कुरा उनले आफ्नै दुःख देखाएर फर्किए।

त्यस वाहेक प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री, सांसद, तथा नेता/कार्यकर्ता सवै पुगे। सवैले भुकम्प पीडितको दुःखसँग फोटो खिचे, फेसबुक सजाय र सकेसम्म भुकम्प पीडितका लागि कसैले गर्न नसकेको सहयोग गरेको भन्दै प्रचार गर्न पनि भ्याए।

तर, भुकम्प पीडितको दुःख भने ज्युँका त्युँ छ। अहिलेसम्म पनि उनीहरुले जाडो थेग्ने राहत पाएका छैनन्। राहत नपाएकै कारण हालसम्म ८ जना भुकम्प पीडितले चिसो थेग्न नसकेर ज्यान गुमाई सकेका छन्।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दीर्घ रोगी तथा बिरामी रहेकाहरू बढी प्रभावित भएका छन् । दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू चिसोका कारण थप समस्यामा परेकाले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। बालबालिका, सुत्केरी, दीर्घ रोगी र वृद्ध वृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । अहिले विस्थापित भएका अधिकांश खुल्ला आकाश मुनी त्रिपालको सहारामा बस्न बाध्य छन् । उनीहरूले अहिले सम्म राहत समेत पाउन नसकेको गुनासो गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट