बसले मोटरसाईकललाई ठक्कर दिँदा सप्तरीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
विराटनगर— मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी बलका सहायक हवल्दार सुदीप खड्काको मृत्यु भएको छ।
कोशी राजमार्गमा भएको दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय खड्कालाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि चिकित्सकले साँझ करिव ७ बजे मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना साँझ करिब साढे ५ बजे भएको हो।
ठक्करबाट बूढीगंगा–४ निवासी खड्काको टाउको, छाती, दुवै हातखुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल बूढीगंगास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो।
उपचारकै क्रममा खड्काको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए। खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत थिए।
दुर्घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाल रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा रहेको र मोटरसाइकल अचानक सडक पार गर्ने क्रममा ठक्कर लागेको देखिएको छ। घटनाको कारण र दुर्घटनाको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

