युवतीहरुको कामुक भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं — सामाजिक सञ्जालमा युवतीहरूका कामुक भिडियो पोस्ट गरी वेश्यागमनको प्रचार–प्रसार गरेको आरोपमा प्रहरीले पाँचथरका २४ वर्षीय सरोज लामालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ।

फिदिम नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्कमा बस्दै आएका लामालाई सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार हुने प्रकृतिका सामग्री पोस्ट गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार लामाले युवतीहरूका कामुक भिडियोसहित वेश्यागमनको प्रचार–प्रसार हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको सूचना प्राप्त भएपछि उनको खोजी थालिएको थियो। खोजतलासका क्रममा प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारेको जनाएको छ। लामाविरुद्ध ‘वेश्यागमनको प्रचार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको छ। थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रहरीले सामाजिक सञ्जालमार्फत पोस्ट गरिएका सामग्री तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ। हालसम्म प्रहरीले सार्वजनिक गरेको विवरणमा लामाले उक्त कसुर स्वीकार गरे÷नगरेको उल्लेख छैन। उनीमाथि अनुसन्धान जारी रहेकाले आरोपको अन्तिम कानुनी निरूपण अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट