पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटी लिएर छोड्न उच्च अदालतको आदेश

काठमाडौँ— नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले विहिवार खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको हो। गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन्। यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले उनलाई छोड्ने पक्षमा राय दिएको हो।
यो आदेशसँग जिल्ला अदालतको आदेश बदर भएको छ। उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो।
२० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो। नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् ।