रास्वपा नेताकी आमाको अन्त्येष्टिमा सशस्त्रको सलामी! सुरक्षा फौज हो कि नेताको चाकरी टोली ?

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना जवानले शोक सलामी दिएपछि राज्यको सुरक्षा संगठन राजनीतिक दलका नेता तथा तिनका परिवारको निजी सम्मान टोलीका रूपमा प्रयोग हुन थालेको हो कि भन्ने प्रश्न उठेको छ।

बाराको क्षेत्र नम्बर–१ मा रास्वपाका नेता तथा कोल्हवी नगर सचिव मनोजप्रसाद चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टोलीले सलामी दिएको हो। घटनाका तस्बिर र विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सलामी दिने निर्णयको औचित्य र त्यसका लागि टोली परिचालन गर्ने आदेश कसले दिएको थियो भन्ने विषय विवादमा परेको छ।

विवाद चर्किएपछि सशस्त्र प्रहरी बलले घटनाबारे छानबिन सुरु गरेको छ। अन्त्येष्टिमा रास्वपाका नेता तथा कार्यकर्ताको टोलीसँगै बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत उपस्थित थिए। पार्टीको स्थानीय संगठनका पदाधिकारीको पारिवारिक कार्यक्रममा सरकारी सुरक्षा संगठनको टोली पुगेर सलामी दिनुले राजनीतिक पहुँच र राज्य संयन्त्रको निष्पक्षतामाथि बहस सिर्जना गरेको छ।

बहालवाला ठानेर सलामी टोली पठाएको सशस्त्रको स्पष्टीकरण
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालले चौधरी बहालवाला सशस्त्र प्रहरी कर्मचारी रहेको जानकारीका आधारमा सलामीका लागि टोली पठाइएको बताएका छन्।

तर, पछि बुझ्दै जाँदा चौधरी भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी रहेको खुलेको उनको भनाइ छ। संगठनले नै पूर्वसशस्त्र प्रहरी कर्मचारीका आफन्तको निधनमा यसरी शोक सलामी दिने व्यवस्था नरहेको स्पष्ट पारेको छ। संगठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने चलन भए पनि भूतपूर्व कर्मचारीका आफन्तलाई यसरी सलामी दिन नमिल्ने सिलवालले स्पष्ट पारेका छन्।

उनले घटनामा त्रुटि भएको स्वीकार गर्दै कसको आदेशमा टोली परिचालन गरिएको हो भन्नेबारे छानबिन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारी सलामी दिन पुगेका थिए।

संगठनले बहालवाला कर्मचारीका परिवारलाई दिइने सम्मान र पूर्वकर्मचारीका परिवारलाई दिइने सम्मानबीच स्पष्ट भिन्नता रहेको बताइसकेको अवस्थामा यो घटना सामान्य प्रशासनिक त्रुटि मात्रै हो वा कसैको विशेष आग्रह र प्रभावमा भएको हो भन्ने प्रश्न उठेको छ।

पार्टी नेताको पारिवारिक कार्यक्रममा सरकारी फौज किन ?
यो घटनाको विवाद केवल पूर्वसशस्त्र प्रहरी कर्मचारीकी आमालाई सलामी दिन मिल्ने कि नमिल्ने भन्नेमा सीमित छैन। राज्यको सुरक्षा संगठनको जनशक्ति कुन प्रयोजनका लागि र कसको निर्णयमा परिचालन भयो भन्ने मूल प्रश्न हो।

रास्वपाको कोल्हवी नगर सचिव रहेका चौधरीको पारिवारिक शोकमा सशस्त्र प्रहरीको टोली पुग्नु र सलामी दिनुले राजनीतिक दलसँग जोडिएका व्यक्तिको निजी कार्यक्रममा सरकारी सुरक्षा जनशक्ति प्रयोग गर्ने अभ्यासबारे प्रश्न उठाएको छ।

सुरक्षा संगठनका कर्मचारीले आफ्नो व्यक्तिगत वा पारिवारिक सम्बन्धका आधारमा नभई संस्थागत नियम र आदेशअनुसार काम गर्नुपर्ने हुन्छ। बहालवाला कर्मचारीका परिवारको हकमा संगठनको परम्पराअनुसार दिइने सम्मानलाई पूर्वकर्मचारीका परिवारसम्म विस्तार गर्न मिल्छ कि मिल्दैन भन्ने विषय पनि स्पष्ट हुनुपर्छ।

तर, यो घटनामा संगठनले नै नियमविपरीत भएको स्वीकार गरिसकेको छ। अब छानबिनले टोली पठाउने निर्णय कसले गर्‍यो, कुन आधारमा आदेश जारी भयो र त्यसमा कुनै राजनीतिक दबाब वा प्रभाव थियो कि थिएन भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ।

चौधरीको दाबीः मैले काम गरेको संगठनको सम्मान हो
विवाद सार्वजनिक भएपछि चौधरीले आफू अहिले सरकारको कुनै पनि सार्वजनिक पदमा नरहेको र पूर्वसशस्त्र प्रहरी कर्मचारी रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आमाको अन्त्येष्टिमा दिइएको सलामी आफूले काम गरेको संगठनले दिने आदर्श सम्मान भएको दाबी गरेका छन्।

‘म सरकारको कुनै पनि सार्वजनिक पदमा छैन । पहिला म पूर्वसशस्त्र प्रहरी हुँ । हाम्रा पुजनीय बुवाआमाको देहान्त भएपछि मैले काम गरेको संगठनले दिने आदर्श सम्मान शोक सलामी हो । यस्तो दुःखको घडीमा टीकाटिप्पणी नगरिदिनुहोला,’ उनले लेखेका छन्।

उनले देशमा संकट वा आपत्कालीन अवस्था आए सरकारले पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई समेत सेवामा फर्काउन सक्ने भन्दै आफूले संगठनबाट पाउने सम्मान लिएको तर्क गरेका छन्। तर, पूर्वकर्मचारीलाई आवश्यक परेको अवस्थामा पुनः सेवामा बोलाउन सकिने व्यवस्था वा सम्भावना हुनु र उनका परिवारलाई बहालवाला कर्मचारीसरह शोक सलामी दिन मिल्नु एउटै विषय होइन। संगठनका अधिकारीहरूले नै यस्तो सलामी दिन नमिल्ने बताइसकेका छन्।

मधेश प्रदेशका डीआईजीले पनि स्वीकारे त्रुटि
सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआईजी विष्णु भट्टराईले पनि पूर्वसशस्त्र प्रहरी कर्मचारीका आफन्तलाई यसरी शोक सलामी दिन नमिल्ने बताएका छन्। उनका अनुसार सशस्त्र प्रहरी बल नम्बर–१ गण बाराको कोल्हवीस्थित युनिटबाट सलामीका लागि टोली गएको थियो। घटनामा त्रुटि भएको स्वीकार गर्दै उनले पनि छानबिन भइरहेको जानकारी दिएका छन्।

अब छानबिनको मुख्य विषय टोली परिचालन गर्ने आदेश कसले दियो र नियमविपरीत सलामी दिने निर्णय कसरी भयो भन्ने हो। संगठनको तल्लो तहका कर्मचारीले माथिल्लो तहबाट आएको आदेश पालना गरेका हुन् वा कुनै व्यक्ति विशेषको आग्रहमा टोली परिचालन गरिएको हो भन्ने विषय सार्वजनिक हुन बाँकी छ।

राजनीतिक पहुँच र राज्य संयन्त्रको निष्पक्षतामाथि प्रश्न
रास्वपा आफूलाई पुराना राजनीतिक दलभन्दा फरक, सुशासन र संस्थागत सुधारको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। यस्तो अवस्थामा पार्टीको स्थानीय पदाधिकारीको पारिवारिक कार्यक्रममा सरकारी सुरक्षा संगठनको टोली परिचालित भएको घटनाले पार्टीको व्यवहार र सार्वजनिक प्रतिबद्धताबीचको सम्बन्धबारे प्रश्न उठाएको छ।

राज्यका सुरक्षा निकाय कुनै दल, नेता वा व्यक्तिको निजी प्रभावमा चल्ने संस्था होइनन्। तिनको जनशक्ति र स्रोतसाधन सार्वजनिक सुरक्षा तथा संस्थागत जिम्मेवारीका लागि प्रयोग हुनुपर्छ। राजनीतिक पहुँचका आधारमा सरकारी फौजको सेवा प्राप्त गर्न सकिने हो भने त्यसले राज्य संयन्त्रको निष्पक्षता र संस्थागत मर्यादामाथि नै असर पार्छ।

यो घटनामा रास्वपाको औपचारिक निर्देशन वा राजनीतिक दबाब रहेको पुष्टि भइसकेको छैन। तर पार्टीका स्थानीय नेताको पारिवारिक कार्यक्रममा सशस्त्र प्रहरीको टोली पुगेर सलामी दिनु, संगठनले त्यसलाई नियमविपरीत स्वीकार्नु र छानबिन सुरु गर्नुले जवाफदेहिताको प्रश्न भने गम्भीर बनाएको छ।

सशस्त्र प्रहरीले अब केवल गल्ती भएको स्वीकार गरेर पुग्दैन। कसको आदेशमा ११ जना कर्मचारी परिचालित भए, आदेश दिने अधिकारीको जिम्मेवारी के हो र यस्ता घटना दोहोरिन नदिन के कदम चालिन्छ भन्ने कुरा सार्वजनिक गर्नुपर्छ।

राज्यको सुरक्षा फौज नागरिकको सुरक्षाका लागि हो कि राजनीतिक पहुँच भएका व्यक्तिको पारिवारिक सम्मानका लागि ? रास्वपा नेताको आमाको अन्त्येष्टिमा भएको सलामी विवादले यही प्रश्नको जवाफ खोजिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट