१ अर्ब ६९ करोडको ठगीः सीआईबीले कागजात मागेको सुइँको पाएपछि भारत भागेका थिए पूर्वमुख्यसचिव अर्याल

काठमाडौँ– मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको भनिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परे। सीआईबीले मन्त्रालयसँग कागजात मागेको सुइँको पाएपछि उनी पक्राउ पर्ने डरले भारत भागेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट अतिरिक्त रकम उठाउने र त्यसलाई मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ। यही प्रकरणमा अनुसन्धान अघि बढाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मन्त्रालयसँग केही महत्वपूर्ण कागजात माग गरेको थियो। त्यसलगत्तै अर्याल सम्पर्कविहीन भएको अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ।

प्रहरीका अनुसार सीआईबीले पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाएपछि अर्याल भारत पुगेका थिए। अनुसन्धान अधिकृतहरूले उनको भारत यात्रासम्बन्धी अभिलेखसमेत फेला पारेको बताएका छन्। उनी भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई काठमाडौं ल्याइएको छ।

अर्यालविरुद्ध यसअघि नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। उनी पक्राउ पर्नुअघि नै दुई पूर्वश्रममन्त्रीसहित मन्त्रालयका तत्कालीन सचिव र उच्च अधिकारीहरू पक्राउ परिसकेका थिए। उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

अर्यालको पक्राउसँगै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको आर्थिक शोषणमा राजनीतिक नेतृत्व र प्रशासनिक उच्च तहको भूमिका थप अनुसन्धानको घेरामा परेको छ।

अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए। यही अवधिमा कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारीले श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार तत्कालीन मन्त्रीहरूको कार्यकालमा मलेसिया रकम पठाउने निर्णय भएका थिए। त्यसैले अर्यालको सचिवकालका निर्णय र त्यसको कार्यान्वयनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ।

अर्याल श्रम सचिव हुनुअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए। प्रकरणसँग जोडिएका केही व्यक्तिसँग त्यतिबेलादेखि नै उनको निकट सम्बन्ध रहेको र उनीहरूलाई सहयोग गरेको दाबीसमेत अनुसन्धानसँग जानकार व्यक्तिहरूले गरेका छन्। यद्यपि, यस विषयमा उनको भूमिकाबारे अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

कागजात मागिएपछि सम्पर्कविहीन
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त रकम असुली र त्यसलाई विदेश पठाउने विषयमा अनुसन्धान गर्दै सीआईबीले श्रम मन्त्रालयसँग केही कागजात मागेको थियो। ती कागजात मागिएको जानकारी पाएलगत्तै अर्याल सम्पर्कविहीन भएको अनुसन्धान अधिकृतहरूको भनाइ छ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार मन्त्रालयसँग कागजात मागेपछि अर्याल एकाएक सम्पर्कमा आउन छाडेका थिए। अनुसन्धानको क्रममा उनको भारत यात्राबारे विवरण प्राप्त भएको र उनी पक्राउको तयारीबारे जानकारी पाएपछि नेपालबाट बाहिरिएको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार उनी मंसिर ३ गते पक्राउ गर्ने तयारीको सूचना पाएपछि भारत पुगेका थिए। त्यसदिन सीआईबीले अदालतबाट पक्राउ अनुमति लिने प्रक्रिया अघि बढाइरहेको थियो। तर अर्यालले त्यसको सुइँको पाएर प्रहरीको नियन्त्रणमा आउनुअघि नै देश छाडेको अनुसन्धान अधिकृतहरूको भनाइ छ।

भारत पुगेपछि उनी होटलमा नबसी चिनजानका भारतीय नागरिकको घरमा बसेको प्रहरी स्रोतको दाबी छ। उनी यसअघि करिब चार वर्ष कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूतका रूपमा कार्यरत थिए। त्यही अवधिमा चिनजान भएका व्यक्तिको सम्पर्क र सहयोगमा भारतमा बसेको हुन सक्ने अनुसन्धान अधिकृतहरूको अनुमान छ।

अर्याललाई पक्राउ परेर नेपाल ल्याइएको छ। उनको पक्राउको स्थानबारे सार्वजनिक विवरणमा केही भिन्नता देखिए पनि प्रहरी स्रोतले भारतमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ।

चार मन्त्रीको कार्यकालमा उठ्यो रकम पठाउने प्रश्न
अर्याल श्रम सचिव हुँदा चार जना मन्त्रीले मन्त्रालयको नेतृत्व गरेका थिए। तीमध्ये कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारीको कार्यकालमा श्रम मन्त्रालयका निर्णय र मलेसिया रकम पठाउने प्रक्रियाबारे अनुसन्धान भइरहेको छ।

अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार श्रेष्ठको कार्यकालमा मात्रै रकम मलेसिया पठाइएको थिएन। त्यसपछिका मन्त्रीहरूको कार्यकालमा पनि रकम पठाउने निर्णय भएको देखिएको छ। यसले एउटै मन्त्री वा एउटै प्रशासनिक अधिकारीको कार्यकालमा सीमित नभई लामो समयसम्म चलेको असुली र रकम स्थानान्तरणको प्रक्रियामाथि प्रश्न उठाएको छ।

सीआईबीले विशेषगरी पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका मन्त्रीस्तरीय निर्णयमाथि अनुसन्धान गरेको छ। ती निर्णयका आधारमा श्रमिकबाट उठाइएको रकम मलेसिया पठाइएको देखिएपछि मन्त्रालयका तत्कालीन अधिकारीहरूको भूमिकासमेत अनुसन्धानमा तानिएको हो।

अर्यालले श्रम सचिवका रूपमा काम गरेको अवधिमा भएका निर्णय, मन्त्रालयको प्रशासनिक प्रक्रिया र सम्बन्धित निकायबाट प्राप्त कागजातका आधारमा उनको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क, मलेसिया पुग्यो १ अर्ब ६९ करोड
यो प्रकरणको केन्द्रमा मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रियामा खडा गरिएको सिन्डिकेट छ। नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट अतिरिक्त रकम असुल गरिएको र त्यसरी उठाइएको रकम मलेसिया पठाइएको अनुसन्धानमा खुलेको सीआईबीको दाबी छ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मेवारी पाएको म्याक्रोटेक प्रालिले सम्झौताविपरीत सिन्डिकेट खडा गरेर रकम असुली गरेको आरोप छ। स्वास्थ्य परीक्षणका लागि तोकिएको शुल्कबाहेक अतिरिक्त रकम उठाउने र त्यसलाई विदेश पठाउने काममा मेडिकल व्यवसायी तथा सरकारी अधिकारीबीच मिलेमतो भएको प्रहरीको आशंका छ।

अनुसन्धानका क्रममा यसरी संकलित रकम अमेरिकी डलर र बेलायती पाउन्डमा रूपान्तरण गरी मलेसिया पठाइएको पाइएको छ। अहिलेसम्मको अनुसन्धानमा १७ पटकसम्म रकम विदेश पठाइएको विवरण भेटिएको छ।

सीआईबीका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पु¥याइएको छ। उक्त रकम मलेसियास्थित कम्पनीको खातामा पठाउने निर्णय र त्यसको कार्यान्वयन प्रक्रियामा सरकारी अधिकारीहरूको भूमिका रहेको अनुसन्धानको दाबी छ।

यसरी उठाइएको रकमको लाभ कसले र कुन माध्यमबाट प्राप्त गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। रकम संकलनदेखि विदेशी मुद्रा सटही, बैंकिङ माध्यमबाट स्थानान्तरण र मलेसियामा प्राप्तिसम्मको प्रक्रियामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

मेडिकल व्यवसायीबाट सुरु भएको अनुसन्धान मन्त्री र सचिवसम्म
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम उठाएर विदेश पठाउने कार्यको मुख्य योजनाकारका रूपमा रामेछापका कैलाश खड्कालाई प्रहरीले अनुसन्धान गरिरहेको छ। खड्कासहित चार जनालाई सीआईबीले असोज २९ गते पक्राउ गरेको थियो।

त्यसपछि उनीहरूमाथि गरिएको अनुसन्धान र बयानका आधारमा तत्कालीन श्रममन्त्री, मन्त्रालयका सचिव तथा अन्य उच्च अधिकारीहरूको भूमिका पनि खुलेको प्रहरीको दाबी छ।

मंसिर २ गते सीआईबीले पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो।

यसअघि पक्राउ परेका चार जना र त्यसपछि पक्राउ परेका छ जनासहित यो प्रकरणमा १० जना प्रहरी हिरासतमा थिए। उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको छ। अर्याल पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।

सचिवदेखि मुख्यसचिवसम्म पुगेको प्रशासनिक जिम्मेवारी
अर्याल श्रम मन्त्रालयको सचिवबाट गृहसचिव हुँदै २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। उनले करिब १५ महिना मुख्यसचिवको जिम्मेवारी सम्हालेपछि २०८२ मंसिरमा उमेरहदका कारण अनिवार्य अवकाश पाएका थिए।

देशको सर्वोच्च प्रशासनिक पदमा पुगेर अवकाश पाएका अर्याल अहिले आफू श्रम सचिव हुँदा भएका निर्णयको अनुसन्धानमा तानिएका छन्। उनीमाथि लागेको आरोपको केन्द्रमा भने मुख्यसचिवको जिम्मेवारी होइन, श्रम मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट अतिरिक्त रकम उठाउने र विदेश पठाउने निर्णय प्रक्रियामा रहेको भनिएको भूमिका हो।

यो प्रकरणमा पूर्वमन्त्री, सचिव, सहसचिव, उपसचिवदेखि निजी क्षेत्रका मेडिकल व्यवसायीसम्म अनुसन्धानमा तानिएका छन्। त्यसैले अनुसन्धानको दायरा केवल रकम असुल्ने व्यवसायी वा निर्णयमा हस्ताक्षर गर्ने मन्त्रीसम्म सीमित नरही मन्त्रालयको प्रशासनिक संरचना, सरकारी निर्णय र त्यसको कार्यान्वयनसम्म पुगेको छ।

करिब सात लाख नेपाली श्रमिक प्रभावित भएको भनिएको यो प्रकरणमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाइएको प्रहरीको अनुसन्धानले देखाएको छ। तर रकम असुली र स्थानान्तरणमा संलग्न प्रत्येक व्यक्तिको भूमिका, निर्णयको कानुनी आधार र आर्थिक लाभको वास्तविक हिस्साबारे अनुसन्धान तथा अदालतको परीक्षण हुन बाँकी छ।

पूर्वमुख्यसचिव अर्यालको पक्राउले यो प्रकरणमा प्रशासनिक नेतृत्वको सम्भावित संलग्नताबारे उठेका प्रश्नलाई थप गम्भीर बनाएको छ। अब अनुसन्धानले श्रमिकबाट रकम उठाउने व्यवसायीलाई सरकारी संरक्षण कसरी प्राप्त भयो, मन्त्रालयका निर्णय कसरी भए र विदेश पठाइएको रकमको अन्तिम लाभ कसले लियो भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट