प्रचण्ड र बालेन्द्रको झगडाले ललितपुर महानगरको स्थापना दिवस नै खल्लो बनायो

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह सार्वजनिक कार्यक्रममै झगडा (भनाभन) मा उत्रिएका छन्।

सोमवार ललितपुर महानगरपालिकाको स्थापना दिवसमा पुगेका दुवैले एकअर्का प्रति आफनो तितो पोखे। बालेन्द्रले प्रधानमन्त्रीले भाषण गर्दै हिँडेको भन्दै त्यसबाट पनि थोरै समय मात्र छुट्याए समस्याको समाधान हुने बताए।

उनले प्रधानमन्त्रीले त्यसतर्फ ध्यानै नदिएको गुनासो गरे। खोलानाला अतिक्रमण गरी बनेका बस्ती र संरचना हटाउन, फोहोरमैला व्यवस्थापनमा गर्न र तीनकुनेको मुआब्जा विवाद समाधान गर्न संघीय सरकारले सहयोग नगरेको गुनासो गरे।

‘प्रधानमन्त्रीले चाहे सुकुम्बासी समस्या र खोला अतिक्रमण ५ मिनेटदेखि १ घण्टाभित्र हट्छ।’ उनले भने– ‘सम्माननीयज्यूले चाहनुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ, त्यति समयमा समाधान हुने विषय हो।’

फोहोरमैला व्यवस्थापनमा पनि महानगरपालिकाले स्रोतमै वर्गीकरणदेखि बञ्चरेडाँडामा ल्यान्डफिलसाइटको व्यवस्थापनसम्मका लागि संघीय सरकारसँग गुहार मागेको तर त्यसले सिंहदरबारलाई कत्ति पनि तातो नलागेको बालेन्द्रको गुनासो छ।

तीनकुनेमा सरकारले जग्गा अधिग्रहण प्रक्रिया थालेको करिब ५० वर्ष भयो। २०३१ सालमा राजपत्रमा सूचना प्रकाशित गरिएको थियो। २०५२ सालमा ५३ रोपनी जग्गाको लगत कट्टा गरी सरकार र सडक विभागको नाममा कायम गरियो। उक्त लगतकट्टा अदालतले बदर गरिदियो। २०५९ मा जग्गाको पुनः मूल्यांकन गरी मुआब्जा वितरण गरियो। मुआब्जा लिन नमानेका केही परिवारका हकमा अहिलेसम्म समस्या समाधान भएको छैन।

बालेन्द्रको यही भनाईको जवाफ दिने क्रममा प्रधानमन्त्रीले पनि रिस पोखे। आफू बोलेर हिँडिहाल्ने अनि अरुको कुरै नसुन्ने भन्दै उनले बालेन्द्रको आलोचना गरे। उनले सबैभन्दा सहज र सहयोगी प्रधानमन्त्री आफै रहेको भन्न पनि भ्याए।

‘बालेन्द्रजी आफू बोलेर गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुराचाहिँ भनिहाल्ने, अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

आफूले गरिरहेको सकारात्मक प्रयासको मेयर बालेन्द्रले जस नदिएको गुनासो पनि प्रचण्डले पोखे, ‘उहाँले भन्नुभो, यहाँबाट निक्लिनेबित्तिकै हुन्छ? म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने, बालेन्द्रजी! चाहे त्यो बागमतीमा बसेकाहरुलाई हस्तक्षेपको कुरालाई लिएर होस् या तीनकुनेको कुरालाई लिएर होस्, चाहे फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो? अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कहीँ कसैले देख्नुभएको छ? तपाईँ त्यसलाई रिकग्नाइज गर्न किन डराउनुहुन्छ?’

काठमाडौँ उपत्यकाका हकमा आफूभन्दा बढी बालेन्द्र नै जिम्मेवार रहेको भन्दै उनले समस्या उनकै थाप्लोमा हाले।

दुवैले एकले अर्कालाई समस्या देखाए। आफूलाई असल र अर्कोलाई खराब घोषणा गरे। निकासका लागि हामी यसो गरौँ भनेर कसैले भनेनन्। दुई जनाको तीतो पोखाईले ललितपुर महानरपालिकाको स्थापना दिवस नै खल्लो बनाएको सहभागिहरुले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट