यौन दुर्ब्यवहारमा परेपछि दलित युवतीले आत्महत्या गरेको घट्नामा छैन प्रहरीको चासो, आरोपित अझै फरार

लहान– यौन दुर्ब्यवहारमा परेको ४ महिनासम्म पनि न्याय नपाएकी सिरहाको नवराजपुर गाउँपालिका–३, दानबारीकी दलित युवती २४ वर्षीया आनन्दीदेवी सदायले आत्महत्या गरेको घट्नामा प्रहरी अझै उदासिन देखिएको छ।
न्याय माग्दा उल्टै मिल्न दबाब दिएपछि नरहा गाउँपालिकाको बर्छबा घर भई माईतीमा बस्दै आएकी आनन्दीदेवी २ वैशाखमा आत्महत्या गेकी थिईन। आफनै घरमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो। उनकी २ वर्षकी छोरी छिन्।
यो घट्ना भएको पनि झण्डै एक महिना पुग्न लागेको छ। तर, आरोपित पक्राउ परेका छैनन्। आरोपितलाई प्रक्राउ गर्न प्रहरीले आलटाल र बहानाबाजी गर्दै आएको छ। आनन्दीकी आमा बिल्टौनका अनुसार ९ पुसको बिहान करिव ११ बजे आनन्दी बरियारपट्टी गाउँपालिका–१, नर्गीमा रहेकी आफ्नी दिदीलाई भेट्न जाँदै थिईन।
गाउँकै पोखरी छेउमा पुगेपछि स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले उनलाई यौन प्रस्ताव राखेका थिए। नमानेपछि घेरा हालेर लछारपछार गर्दै नजिकैको आँपको बगैँचामा लगेर बलात्कार गर्ने प्रयास गरे। उनीहरुको प्रतिवाद गरेर आनन्दी घर पुगेकी थिईन।
घट्ना भएकै दिन आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा पुगेर ‘जबरजस्ती करणी उद्योग’ शीर्षकमा जाहेरी दिईएको थियो। जाहेरी दिन जाँदा उनका पति उमेश सदाय पनि साथमै थिए।
तर, प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउनुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउन प्रयास गरेको खुलेको छ। यति मात्रै होईन, प्रहरीले मिलापत्र गर्न भन्दै दर्ता गरेको जाहेरीसमेत रद्द गरेर वेईजत गरेको खुलासा भएको छ।
बिल्टौनका अनुसार जाहेरी दिएको करिव एक महिनापछि (४ माघ) प्रहरीले पीडित परिवारलाई बोलाएर जाहेरी दर्ता भएको भरपाई दिएको थियो। प्रहरी हबलदार मनोजकुमार यादवले जाहेरी दर्ता गरेका थिए। ‘मुद्दा नम्बर ४० मा जाहेरी दर्ता भएको’ पीडित परिवारलाई दिईएको भरपाईमा उल्लेख छ।
तर त्यसको भोलिपल्ट नै पुनः बोलाएर गालीगलौज गर्दै उक्त भरपाई प्रहरीले च्यातिदिएको बिल्टौनले बताएकी छिन्। ‘प्रहरीले अब केही हुन सक्दैन, केही पैसा लिएर गाउँमै मिल्नु भन्यो’–उनले भनेकी थिईन।
कानुनी रुपमा पनि न्याय नपाउने अवस्था देखेपछि परिवारले मिडियामा जाने तयारी गरेका थिए। त्यसपछि प्रहरीले बल्लतल्ल २५ फागुनमा जाहेरी दर्ता गर्यो। २६ फागुनमा सिराहा जिल्ला अदालतबाट पीडक विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको छ। तर, दोषीलाई पक्राउ गर्न आनाकानी गरेपछि आनन्दीले आत्महत्या गरेकी थिईन।
उनको मृत्युका पछाडि पीडक र प्रहरीमात्र होईन समाज र उनका पति उमेशसमेतको भुमिकामाथि प्रश्न उठेको छ। बलात्कारको प्रयासपछि गाउँलेले पैसा लिएर मिल्न दबाब दिएको, प्रहरीले पीडकको पक्षमा लागेर जोहरी दर्ता नगरेको, जाहेरी दर्ता गरेपनि कानुनी प्रकृया अघि नवढाएको, आरोपितलाई पक्राउ नगरेको तथा पतिले घट्नापछि बोलचाल नै वन्द गरेको सम्का तथ्य वाहिर आईसकेका छन्।
प्रहरीले पनि जाहेरी दर्ता गरेर रद्द गरिएको स्विकार गरेको छ। इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीले जिल्लाबाट थप अनुसन्धान गरेर मात्रै अगाडि बढ्न निर्देशन आएपछि दर्ता भएको जाहेरी बदर गर्नु परेको बताएका थिए। ‘मुद्दा फाँटका प्रहरीले थाहै नपाएर जाहेरी दर्ता गरे। जिल्लाबाट अर्को आदेश भएपछि त्यसलाई बदर गर्नुप¥यो।’– मैनालीले भनेका थिए।
उक्त घटनामा प्रहरीले घुस लिएको विषयमा जिल्ला प्रहरी कार्यालय, सिराहाले छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ। डिएसपी वीरेन्द्रकुमार पासवानले आरोपित दुवै जना फरार रहेको बताए। उनीहरुको खोजी भइरहेको उनको भनाई छ।