हकवालाले पाउने १३ लाख रुपैयाँ हजम गरेको आरोपमा बीमा कम्पनीको विराटनगर शाखाका प्रवन्धक पक्राउ

विराटनगर– मिर्गौला फेल भएर मृत्यु भएका विमितको करिव १३ लाख रुपैयाँ हजम (ठगी) गरेको आरोपमा सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाका शाखा प्रबन्धक पक्राउ परेका छन्।
मोरङका सीडीओ इन्द्रदेव यादवको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–३ घर भएका कम्पनीका शाखा प्रवन्धक सन्तोष अधिकारीलाई पक्राउ गरेको हो। उनीमाथि बीमा रकममा ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका केराबारी गाउँपालिका–९, देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्माको मृत्युपछि हकवाला उनकी श्रीमती भिमकुमारीले पाउनुपर्ने रकम अधिकारीले ठगी गरेको आरोप छ।
भिमकुमारीका अनुसार एक वर्षअघि नईन्द्र वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। गएको केही समयपछि नै उनको मिर्गौला फेल भएको थाहा भयो। त्यसपछि उनी घर फर्किए। उपचारका क्रममा उनको मृत्यु भयो।
त्यसपछि भिमकुमारीले विमा रकम दावी गर्दै इन्स्योरेन्स कम्पनीमा निवेदन दिईन। वैदेशिक रोजगार म्यादी बीमाबापतको १३ लाख रुपैयाँ लिन पुगेकी भिमकुमारीलाई बीमासम्बन्धी जानकारी नभएको र लेखपढ गर्न नजानेको देखेपछि सन्तोषले पैसा पचाउने जुक्ति झिकेको पाईएको छ।
उनले त्यही बेला भिमकुमारीलाई विभिन्न कागजात र खाली चेकमा सहीछाप गर्न लगाए। भुक्तानीका लागि भन्दै ग्लोबल आईएमई बैंकमा एकल र संयुक्त खाता खोल्न लगाइ उनका १५ वर्षका भदा नाताका प्रतिक विश्वकर्मा र मृतककी जेठी श्रीमती मीरा विश्वकर्माको नाममा वार्षिक ५१ र ७० हजार किस्ता तिर्नुपर्नेगरी बीमा दर्ता गराए।
यसरी आफूखुशी दुई जनाको विमा दर्ता गराएपछि परिवारमा आर्थिक भार थपियो। अझै पनि भिमकुमारीले पैसा पाउने आशा भने छोडिनन्। तर, पैसा माग्दा पाँच लाख ७० हजारभन्दा बढि दिन नसक्ने भन्दै उनले हप्काएर पठाए।
बीमा रकम नपाएपछि उनले आफूलाई झुक्याएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा उजुरी दिइन्। सीडीओ यादव तत्कालै एक्सनमा गए र घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए।
सीडीओ निर्देशन पाएपछि प्रहरीले अधिकारीलाई पक्राउ गर्यो। प्रारम्भिक अनुशन्धानमा विश्वासघात गरी झुक्याएर बीमा दर्ता गराएको फेला परेको प्रहरीले जनाएको छ। सन्तोषविरुद्ध अपराधिक ठगी कसूरमा बुधबार म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।