हर्षित मुद्रामा नेपाल आएका एस जयशंकर रिसाएर दिल्ली फर्किए

काठमाडौं– नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्।

आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए। उनले बिहीबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेतासँग भेटवार्ता गरे।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारलगायत चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रबार स्वदेश फर्किनु अगाडि उनले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका थिए भने त्यसपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन समेत गरे।

हर्षित मुद्रामा नेपाल आएका जयशंकर फर्किदा भने रिसाएका छन्। जयशंकरले सन् २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका थिए।

उनले ट्विटमा लेखेका थिए– ‘नमस्ते काठमाडौं, सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु। आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।’

तर, उनको खुशी केहीबेरमै हराएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएपछि उनी रिसाएको बुझिएको छ।

युगाङ विमानस्थलबाट सिधै होटल मेरियटमा पुगेका थिए। ‘आफ्नो नेपाल भ्रमण रहेकै दिन चिनिया कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि नेपाल भ्रमणमा बोलाएको भन्दै जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। आफ्नो नेपाल भ्रमणको बेला चिनिया उच्च अधिकारीको भ्रमण रहेको यसअघि थाह पाएका उनले भ्रमण एकै समयमा नबनाउन नेपाल सरकारलाई आग्रह गरेका थिए।

तर चिनियाहरुको भ्रमण यसअघि नै तय भएकाले भ्रमण सार्न परराष्ट्र मन्त्रालयले कुनै कसरत गरेन। उनीहरुले पनि नेपाल भ्रमणमा छन्। परराष्ट्र मन्त्रालयले चिनिया अधिकारीहरुको भ्रमणबारे औपचारिक रुपमा कही कतै उल्लेख गरेको छैन। उनीहरुको कार्यक्रम के हो भन्ने पनि कुनै जनाकारी दिइएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट