म्याग्दीमा ढुङ्गाले हानेर ७० वर्षीया वृद्धाको क्रुर हत्या, एक जना पक्राउ
म्याग्दी– म्याग्दीमा ढुङ्गाले हानेर ७० वर्षिया वृद्धाको हत्या भएको छ। मालिका गाउँपालिका–७ बिमवाङकी मनिषा गर्बुजाको अज्ञात ब्यक्तिले धारिलो ढुङ्गाले हानेर हत्या गरेको हो।
मनिषालाई ढुङ्गाले हानेको देखेर छुट्याउन गएकी छिमेकी महिला ६६ वर्षीया अमृता जुग्जाली र मनिषाकी ७ वर्षीया नातिनी प्रियंका गर्बुजा घाईते भएका छन्। आक्रमणकारीले उनीहरु दुवै जनालाई चिर्पटले हानेको जनाईएको छ।
घाइते दुबै जनाको दरवाङ प्राथमिक उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ। प्रियंकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको म्याग्दीका डीएसपी मदन कुँवरले बताए।