पाकिस्तानी क्रिकेटर सोएब मलिकले गरे अभिनेत्री सनासँग तेस्रो बिवाह

काठमाडौं– पाकिस्तानी क्रिकेटर सोएब मलिकले तेस्रो बिवाह गरेका छन्। उनले पाकिस्तानी अभिनेत्री सना जावेदसँग बिवाह गरेका हुन्। मलिकले आफ्नो इंस्टाग्राममा सना जावेदसँगको बिवाहको फोटो सार्वजनिक गरेका छन्।
२८ वर्षीया सना जावेदले पाकिस्तानका धेरै शो र म्युजिक भिडिओमा अभिनय गरेकी छन्। ४२ वर्षीय शोएब मलिकले भने पाकिस्तानका लागि २८७ ओडीआई, १२४ टी–२० र ३५ टेस्ट खेलेका छन्। उनी सन् २००७ मा पाकिस्तानी टोलीको कप्तान बनेका थिए।
मलिकको यो तेस्रो बिवाह हो। यसअघि उनले भारतीय टेनिस स्टार सानिया मिर्जासँग दोस्रो बिवाह गरेका थिए। तीन दिनअघि अर्थात् बुधबार मलिकका पत्नी सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन्। त्यसपछि उनको दाम्पत्य सम्बन्ध बिग्रिएको वा सम्बन्ध विच्छेद भएको अनुमान भइरहेको थियो।
सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईंले आफ्नो कठिन विकल्प रोज्नुपर्छ।’सानिया र मलिकबीच तलाक भएको चर्चा चलेको थियो। यद्यपि मलिकले तलाक गरेर सना जावेदसँग बिवाह गरेका हुन् वा तलाक नगरी त्यो खुलेको छैन।
सानिया र मलिकको बिवाह २०१० मा भएको थियो। उनीहरू दुबईमा बस्दै आएका थिए। सानियासँग बिवाह गर्नुअघि पनि मलिकले बिवाह गरेका थिए।