दाँत उखेल्दा मस्तिष्कमा रक्तस्राव भएर २३ वर्षीय युवकको मृत्यु!

काठमाडौं– चीनको हुनान प्रान्तमा दाँत निकालेकै कारण २३ वर्षीय युवकको मृत्यु भएको छ। वाङ नाम गरेका दाँत निकाल्दा मृत्यु भएको हो।

दाँत दुखेपछि वाङ उपचारका लागि सेन्जेन सहरको कुइयोङ पिपुल्स हस्पिटल गएका थिए। चेकजाँचपछि चिकित्सकले उनका दुइटा दाँत झिक्नुपर्ने बताए। त्यसमा युवक सहमत भए।

दाँत झिकिसकेपछि उनलाई दाँतको एक्सरे गर्न भनियो। त्यसका लागि कुर्सीबाट उठ्नेबित्तिकै उनी बेहोस भएर भुँइमा ढलेका थिए। उनलाई तत्कालै आकस्मिक कक्षमा लगियो। जाँचका क्रममा दाँत निकालेपछि मस्तिष्कभित्र रक्तस्राव भएको देखियो।

जटिल प्रक्रियापछि उनी कोमामा गए र धेरै अंग फेल भएका कारण १४ दिनपछि ज्यान गुमाए। वाङको मृत्युपछि उनको परिवारले अस्पतालविरुद्ध मुद्दा हालेको छ। जसमा अस्पतालका चिकित्सक र कर्मचारीको लापरबाहीका कारण वाङको मृत्यु भएको दाबी गर्दै १८ लाख युआन क्षतिपूर्ति माग गरेको छ।

अस्पतालले भने चिकित्सकले उपचारसम्बन्धी प्रोटोकल र नियम उल्लंघन नगरेको दाबी गर्दै ६ लाख युआन मात्र क्षतिपूर्ति दिन तयार भएको जनाएको छ। अन्तिम संस्कारमा प्रमाण नष्ट होला भनेर परिवारले ५ महिनादेखि वाङको शवलाई शवगृहमै राखिरहेको छ। दाँत झिक्दा युवकको मृत्यु कसरी भयो भन्ने विषयमा छानबिन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट