युक्रेनी सेनाको कब्जामा रहेकालाई फिर्ता ल्याई दिन्छु भनेर पनि ठगी

काठमाडौं– विदेश पठाई दिने, उपहार पठाई दिने, जागिर लगाई दिने लगायतका विभिन्न वहानामा नेपालमा ठगीका धन्दा मौलाका छन्। त्यस्ता घट्नामा संलग्नलाई धेरैलाई प्रहरीले पक्राउ गरी कानुनी दायरमा समेत ल्याएको छ।
तर, ठगी नियन्त्रण हुनुको सट्टा झन–झन वढिरहेका छन्। हुँदा–हुँदा अव त अध्ययनका लागि रुस पुगेर युक्रेनी सेनाले बन्धक बनेका विद्यार्थीलाई फिर्ता ल्याई दिने भन्दै तिनीहरुका आफन्तलाई पनि ठगी गरेको घट्ना वाहिरिएको छ।
‘युक्रेनी सेनामा चिनेको मान्छे छ’ भन्दै विद्यार्थीका आफन्त आफन्तसँग पैसा असुल गर्ने काभ्रेको पाँचखाल घर भएका २५ वर्षीय अञ्जन बराललाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ।
‘२ लाख रुपैयाँ दिए ती विद्यार्थीलाई नेपाल ल्याईदिन्छु’ भन्दै १ लाख ४० हजार रुपैयाँ हात पारेपछि मोबाइल स्विच अफ गरेर बराल बेपत्ता भएका थिए। आफु ठगीएको पत्ता पाएपछि पीडितले प्रहरीलाई खबर गरे।
तर, जाहेरी पर्नु अघि नै बराल पक्राउ परिसकेका थिए। उनलाई प्रहरीले अर्कै ठगी अभियोगमा पक्राउ गरेको थियो। उनी ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको अर्को प्रकरणमा पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाख रुपैयाँ ऋण दिने तर ब्याजबापतको ३ लाख ५० हजार रुपैयाँ (वर्षको एक प्रतिशत बराबरको ब्याज) अग्रिम दिनुपर्ने बताएर बरालले ठगी गरेका थिए।
३ करोड ५० लाख रुपैयाँ जम्मा गरेको नक्कली बैंक भौचर पठाएर ३ लाख ५० हजार रुपैयाँ पठाउन लगाई उनी फरार थिए। खातामा पैसा नदेखेपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन्। सोही उजुरीका आधारमा बराल पक्राउ परेको प्रहरीले जनाएको छ।