‘१ जनासँग मगनी, अर्कोसँग लगनगाँठो कस्नुलाई उथलपुथल भनिँदैन’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने’ बताएको विषयलाई नेपाली कांग्रेसले मजाक बनाई दिएको छ।

विहिबारको प्रतिनिधि सभाको वैठकमा बोल्दै प्रमुख प्रतिक्षी दलका तर्फबाट कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई ब्यंग्य गरे। लेखकले भने, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ र पाँचौँसँग टाप ठोक्ने कामलाई उथलपुथल भनिँदैन।’

उनले ‘आफू र माओवादीलाई कसैले प्रयोग गर्न खोजे लात्तीले हानेर निस्किने’ बताएको विषयलाई पनि लेखकले गम्भिर रुपमा उठाए। प्रधानमन्त्रीको कुर्सीमा बसेर लात्ती हान्ने भनेर कसलाई भनेको हो भन्दै उनले प्रश्न गरे। उनले प्रधानमन्त्रीले यो विषयमा स्पष्ट नपारे संसद कसरी चल्छ भनी प्रश्न मात्र गरेनन् संसद चल्न नदिने संकेतसमेत गरे।

प्रधानमन्त्री दाहालले सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका थिए। ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ। मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं।’

त्यसैबीच आफूलाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निस्किन सक्ने पनि बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट