ड्रग्स किन्न पैसा नदिएपछि रडले हानेर हजुरआमाको हत्या, नातिसहित ४ जना पक्राउ

दमक– झापामा लागु औषध खरिद गर्न पैसा नदिएको रिसमा एक युवकले रडले हानेर ८२ वर्षीया हजुरआमाको हत्या गरेका छन्। हत्या आरोपमा प्रहरीले नातिसहित ४ जनालाई पक्राउ गरेको छ।

हजुरआमाको हत्या आरोपमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मा उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

झापा प्रहरीका एसपी मिलन केसीका अनुसार २५ फागुनको राती ८२ वर्षीया हजुरआमा नरमाया विकको हत्या भएको थियो। लागु औषध सेवन गरेका धिरजले पैसा नदिएको निहुँमा अन्धाधुन्द रड प्रहार गरेका थिए।

हजुरआमाको मृत्यु भएपछि नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए। पक्राउ परेका अभियुक्त धिरजले हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए। उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट