भारत भाग्ने योजनामा थिए महरा, पक्राउ पर्ने वित्तिकै प्रचण्डलाई फोन

काठमाडौं– सुन तस्करी आरोपमा दोस्रो पटक पक्राउ परेका पूर्वसभामुख कृष्णवहादुर महरा भारत भाग्ने योजनासहित कपिलवस्तु पुगेको खुलेको छ।

काठमाडौंबाट स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेपछि उनलाई प्रहरीले पछ्याउन सुरु गरेको थियो। प्रहरीका एक उच्च अधिकारीका अनुसार महरा भारततिर भाग्ने योजनासहित काठमाडौंबाट बाहिरिएका थिए। यद्यपि महराले कपिलवस्तुबाट पक्राउ गरिँदा आफू रोल्पामा हुन लागेको कार्यक्रममा जान हिँडेको जवाफ दिएका थिए।

बर्दघाबाट पछ्याएको प्रहरीले उनलाई आइतबार साँझ नै बुटवल आसपासबाट पक्राउ तयारी गरेको थियो। तर, आईतबार पक्राउ नगरेर आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परिएको जनाईएको छ। उनी अलिगढवा नाका हुँदै भारत जाने तयारीमा रहेको जनाईएको छ।

स्रोतका अनुसार महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए। खाना खान हात धुँदै गर्दा उनले आफुलाई प्रहरीले पछ्याइरहेको सूचना पाए। त्यसपछि उनी भात नै नखाई अलिगढवा नाकातिर निस्किएका थिए।

त्यसपछि महरा सवार बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडी रोक्न प्रहरी चौकीले ब्यारियर तेर्स्याएको थियो। तर, गाडी ब्यारियर छलेर भाग्यो। केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको स्रोतले जनाएको छ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले १ चैतमा प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरू गरेका थिए। महराले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो। त्यसपछि प्रहरीले सबै सीमा नाकामा कडाइ गरेको थियो। देशभरका सीना नाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको थियो।

स्रोतका अनुसार महराले आइतबार साँझ र पक्राउ परिसकेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेका थिए। उनले प्रहरी र प्रधानमन्त्री दुवैसँग आफू भागेर कहीँ नजाने भन्दै यसरी पक्राउ नगरेको भए पनि हुने गुनासो गरेका जनाईएको छ।

सुन तस्करी प्रकरणबारे गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। प्रतिवेदनले महरालाई कसुरदार देखाएको छ। गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो।

त्यसैगरी इलेक्ट्रिक चुरोट (भेप) मा हालेर ल्याएको १४ किलो सुन तस्करी प्रकणमा पनि माओवादीका उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।


प्रतिक्रिया

2 thoughts on “भारत भाग्ने योजनामा थिए महरा, पक्राउ पर्ने वित्तिकै प्रचण्डलाई फोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट