ब्राजिलका पूर्वफुटबल स्टार रोबिन्होलाई बलात्कार मुद्दामा ९ वर्ष जेल

काठमाडौं– ब्राजिलका एक पूर्वफुटबलरलाई बलात्कारको मुद्दामा ९ वर्षको जेल सजाय भएको छ। सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोग लागेका फुटबलर रोबिन्होलाई ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको हो।
यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्थे। इटलीको अदालतले सजाय सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए।
त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो। उनले ब्राजिलमै जेल सजाय काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजले जनाएको छ। रोबिन्होलाई जेल सजाय हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो।
कूल १० भोटमध्ये जेल सजाय हुनुपर्छ भन्ने पक्षमा ८ भोट परेको थियो। रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्। रोबिन्होले ब्राजिलबाट १ पटक अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनी ४ वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए।