काठमाडौंमा प्रहरीकै योजना र संलग्नतामा यसरी भयो दिउँसै लुटपाट
काठमाडौं– लुटपाट, चोरी, हत्या, वलात्कारलगायतका वेथितिबाट नागरिकलाई जोगाउन राज्यले प्रहरी परिचालन गरेको छ। यही मान्यताका आधारमा सामान्य समस्या पर्दा पनि मानिसहरु प्रहरी समक्ष पुग्छन्। तर, तीनै प्रहरी सर्वसाधारणलाई लुट्न थाले भने के होला ?
१५ दिनअघि देशको राजधानी काठमाण्डौमा यस्तै एउटा घट्ना भएको छ। प्रहरीकै योजना र संलग्नतामा काठमाडौंको रातोपुलमा एक युवकको लाखौं रुपैयाँ लुटपाटको भएको छ। अमेरिकी डलर साटिदिने नाममा प्रमोद श्रेष्ठ नामका युवकको ७ लाख १५ रुपैयाँ लुटेको घट्नामा प्रहरीका बहालवाला हवल्दारकै योजना र संलग्नता खुलेपछि सर्वसाधारण आश्चर्यमा परेका छन्। यो घट्ना ५ चैतमा भएको हो।
प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ घर भई प्रहरी वृत्त बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय चक्रबहादुर शाही र रातोपुलकै एक होटलका सञ्चालक ३१ वर्षीय विकास लुइँटेल ६ चैतमा पक्राउ परेका छन्।
हालसम्मको अनुशन्धानमा देखिए अनुसार पोर्चुगलबाट नेपाल आउन लागेका साथीलाई दुईवटा म्याकबुक ल्याइदिन आग्रह गरेका प्रमोदले त्यसबापत ७ लाख १५ हजार रुपैयाँ पठाउनु पर्ने थियो। साथीले अमेरिकी डलरमा साटेर खातामा पैसा जम्मा गर्नू भनेपछि प्रमोद अनलाइनमार्फत डलर सटही गर्ने सम्पर्क खोज्न थाले। सोही क्रममा सुमन तामाङ नामको फेसबुकमा डलर सटहीका लागि सम्पर्क गर्न भनिएको पोस्ट भेटे। उनले फोन गर्दा तामाङले उठाए।
प्रमोदसँग भएको कुराकानी उनले शाही, लुइँटेल र हाल फरार रहेका बम थरका अर्का व्यक्तिलाई जानकारी गराए। त्यसपछि उनीहरुले लुटपाटको योजना वनाएर प्रमोदलाई नगद लिएर रातोपुलस्थित एक क्याबिन रेस्टुरेन्टमा बोलाए।
योजना अनुसार डलर साट्न पैसा निकालेपछि हवल्दार शाहीसहितको टोली होटलमा पुग्यो र ‘म सीआईबीको मान्छे हो’ भन्दै प्रमोदलाई थर्कायो। अवैध रुपमा डलरको कारोवार गरेको आरोपमा प्रमोदलाई हत्कडी पनि लगायो। दिनभर होटलमै राखेर टर्चर गरेपछि सवै पैसा लिएर ‘कतै जानकारी गराए राम्रो हुँदैन’ भन्दै धम्की दिएर छोडिदियो।
प्रमोदले यो कुरा प्रहरी वृत्त गौशालामा जानकारी गराए तर गौशालाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन जान भन्यो। उनले ६ चैतमा अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिए। त्यसै दिन होटल सञ्चालक लुइँटेल पक्राउ परे। उनकै बयानका आधारमा हवल्दार शाही पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
लुईटेलको साथबाट प्रहरीले १ लाख ८२ हजार र शाहीबाट ४ लाख रुपैयाँ बरामद गरेको छ। बाँकी पैसा बम थरका ब्यक्ति र सुमन तामाङले लगेको उनीहरुले बयान दिएका छन्। हवल्दार शाही यसअघिका लुटपाटका घट्नामा पनि संलग्न रहेको सूचना आएको प्रहरीले जनाएको छ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखि थप अनुसन्धान भईरहेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।