डेढ सय जनासँग सोधपुछ गर्दा पनि पत्ता लागेन जिसी दम्पत्तिको हत्यारा

पोखरा– पर्वतको जलजला गाउँपालिका–२, मल्लाज दहका सूर्यवहादुर जिसी पोखरामा जग्गा किन्ने सोचमा थिए। त्यसैले उनी जग्गा हेर्दै थिए। नभन्दै जग्गा पनि फेला पर्यो। किन्ने वेच्ने दुवै तयार भए। मोलमोलाई भयो, अन्त्यमा डेढ करोडमा जग्गा खरिदविक्रिको सहमति वन्यो।

सूर्यवहादुरले वैना गरे। यही महिनाभित्रमा जग्गा पास गर्ने वैना कागज तयार भयो। त्यसका लागि उनी रकम जम्मा गरिरहेका थिए। २ वटा सहकारीबाट ऋण निश्चित गरिसके पनि रकम निकाल्न भने बाँकी थियो।

साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ तत्कालै र जग्गाको कागजपत्र मिलाइसकेपछि थप ऋण लिने सहमति गरे। यसैगरी, मल्लाज बहुउदेश्यीय सहकारी संस्थाबाट १० लाख रुपैयाँ लिन सम्पूर्ण तयारी पुरा गरे। कोरियामा रहेका २ भाइ छोराले पनि पैसा पठाए। पैसा बैंकमा जम्मा भयो।

पैसाको सम्पूर्ण तयारी पुरा भयो। तर, जग्गा पास गर्ने उनको योजना भने पुरा हुन पाएन। बरु, यही जग्गा किन्ने योजना चै उनी र उनकी श्रीमतीको मृत्युको कारण बन्यो। १९ चैतमा ६९ वर्षीय सूर्यबहादुर र श्रीमती ६७ वर्षीया कमला आफनै घरमा मृत फेला परे। उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्यापछि घरमा भएको गरगहना लुटिएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।

जिसी दम्पत्तिको हत्या भएकै पनि १० दिन वितिसक्यो। तर, अहिलेसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। हत्यालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ। लुटपाट गर्ने उदेश्यले हत्या गरिएको निष्कर्ष प्रहरीको छ तर, कसले हत्या गर्यो भन्ने सुराकसम्म फेला परेको छैन।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विकासराज खनालका अनुसार घटना भइसकेपछि करिब डेढ सय जनासँग सोधपुछ गरिएको छ। तर, हत्यारा पत्ता लागेको छैन। १० दिन पुग्दा पनि अनुशन्धान निचोडमा पुग्न नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटाइएको छ। सीआईबीबाट प्रहरी निरीक्षकको कमान्डमा बुधबार टोली घटनास्थलतर्फ लागेको सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताएका छन्।

मृतक दम्पतीका दुई छोरा कोरियाबाट फर्किएका छन् भने जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट