एन्फा उपाध्यक्ष दावा लामा पक्राउ, खैरो हिरोईन कारोवारमा ५ वर्ष कैद सजाय

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बुधबार पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई लागु औषध मुद्दामा पक्राउ गरेको हो।

लामालाई काठमाडौँबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। दावा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा लामालाई ५ वर्ष कैद सजाय सुनाएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।

अदालतबाट दोषी हुँदा सर्वोच्च नगएका उनी एन्फामा प्रवेश गर्दै उपाध्यक्ष पदसम्म पुगेका थिए। डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।

निर्वाचन समितिले पनि गम्भीर रूपमा छानबिन गरेको थिएन। तर एन्फा कार्यसमिति पक्ष–विपक्षमा केन्द्रित हुन थालेपछि लामाको विषय सतहमा आएको थियो। लगत्तै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लामा सम्पर्कविहीन बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट