केटाकेटीको प्रेम प्रकरणले धनुषामा स्थानीय र प्रहरीको झडप, ७ सेल अश्रुग्याँस प्रहार

जनकपुर– धनुषामा एक जोडी युवायुवतीको विषयलाई लिएर प्रहरी र सर्वसाधारणबीच विहिबार झडप भएको छ। औरही गाउँपालिका–१ पौडेसरमा झडप भएको हो।

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि एउटा समुहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो। सोही प्रदर्शन रोक्न र सडक खुलाउन प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार केटी पक्षले एक किशोरी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

ति युवतीको खोजीमा प्रहरीले चासो नदिएको भन्दै केटी पक्षका सर्वसाधारणले बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ। ‘केटा पक्षमाथि मुद्दा चलिरहेको छ। पाँच जनालाई नियन्त्रणमा लिएर अपहण तथा शरीर बन्धक मुद्दा पनि चलाएकै छौँ। युवतीहरुको खोजतालास जारी छ,’ डिएसपी अवाले भने, ‘युवतीका आफन्तहरूले एक्कासी सडक अवरूद्ध गरे, सम्झाइबुझाइ गरेपछि उनीहरु घर फर्किसकेका थिए। तर अहिले फेरि उनीहरुले सडक अवरूद्ध गरेका छन्।’

तराईका अधिकांश जिल्लामा युवायुवतीले भागेर विवाह गर्ने चलन वढेको छ। यस्तोमा केटी पक्षलाई विवाह मन नपरे प्रहरीमा अपहरणको जाहेरी दिएर केटी खोज्न वाध्य पार्ने गरिन्छ। प्रहरीले केटी खोजेर उपस्थित गराएपछि कतिपय अभिभावकले केटीलाई डर, त्रास र प्रभावमा पारी ‘आफुलाई अपहरण गरेको हो’ भन्न बाध्य पार्ने र केटालाई मुद्दा चलाउने चलन छ भने कतिपय अवस्थामा भने परिवारले भने जस्तो केटीले नमान्दा परिवारको जिम्मा लगाएर छोड्ने चलन छ।

औरहीको घट्ना पनि यस्तै खालको देखिएको स्थानीय जानकारहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *