सुत तस्करीको विवादले बंगलादेशी सांसदको हत्या, टुक्रा–टुक्रा पारेर प्लाष्टिकको बोरामा लुकाईएको थियो शव

काठमाण्डौं– भारतको कोलकातामा हत्या गरिएका बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्याका अभियुक्त लिन नेपाल आएको बंगलादेशी सुरक्षा टोली रित्तो हात फर्किएको छ।

२२ मेमा सांसद अनारको शव पकोलकातास्थित एउटा फ्ल्याटमा फेला परेको थियो। त्यसको केही दिन अघि नै हत्या गरी नेपाल छिेरका बंगलादेशी नागरिक ३१ वर्षका मोहम्मद सियाम हुसेन गत विहिवार काठमाण्डौंमा पक्राउ परेका थिए। उनलाई लैजान बंगलादेश र भारतीय प्रहरीले चर्को लविइङ गरिरहेका थिए।

तर नेपाल प्रहरीले मंगलबार बिहान सियामालाई भारतीय प्रहरीको जिम्मा लगाइदिएको छ। विमानस्थलमार्फत नेपाल छिरेका सियामलाई भारतीय प्रहरीले स्थलमार्गबाट लगेको छ। सियाम पक्राउ परेको सूचना पाउनासाथ दुवै देशका उच्च सुरक्षा अधिकारीहरू नेपाल आएका थिए।

बंगलादेश प्रहरीका गुप्तचर विभागका प्रमुख डीआईजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली नेपाल आएको थियो भने भारतबाट पनि गुप्तचरको उच्च तहको टोली नेपाल आएको थियो।

दुवै देशको टोलीले सियामलाई आफनो देश लैजान चर्को लविइङ गरेको थियो। घटनास्थल भारत भएको र हुसेन पनि भारतबाटै नेपाल आएकाले आफुलाई जिम्मा लगाउन भारतले लविङ गरेको थियो भने बंगलादेशले पनि आफ्ना सांसद मारिएको र हत्यामा संलग्न पनि आफ्नै नागरिक रहेको आधार देखाउँदै सियामलाई लैजान खोजेको थियो।

दुवै टोलीले सुरुमा प्रहरी नेतृत्वसँगै पहल गरे। तर, प्रहरी नेतृत्वले बुझाउन आनाकानी गरेको थियो। कानुनतः यसरी पक्राउ परेका अभियुक्त बुझाउन मिल्ने व्यवस्था छैन। तर दुई देशको आपसी समझदारीमा यस्ता लेनदेन हुँदै आएका छन्।

त्यसैले नेपाल प्रहरी अलमलमा परेको थियो। प्रहरी नेतृत्व अलमलमा परेपछि गृहमन्त्री रवि लामिछाने हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म भारतीय प्रहरीले लविङ गरेर सियामलाई आफनो देश लगेको सुरक्षा स्रोतले जनाएको छ।

त्यसपछि आफ्ना सांसद अनारका हत्या अभियुक्त लैजान नेपाल आएको वंगलादेशी टोली भने रित्तो हात फर्किएको हो। सांसद अनार उपचारका लागि भन्दै १२ मे मा कोलकाता पुगेका थिए। १३ मे मा आफू दिल्ली जाँदै गरेको जानकारी परिवारलाई गराएपछि उनी सम्पर्कविहीन भएका थिए।

सांसद अनार बेपत्ता भएको सूचनापछि भारतीय प्रहरीले खोजी गर्न सुरु गरेको थियो। त्यसको ९ दिनपछि उनको शव टुक्राटुक्रा पारेर सुटकेसभित्र प्लास्टिकमा बेरिएको अवस्थामा फेला परेको थियो।

यसअघि हत्या आरोपमा भारतीय प्रहरीले तीन बंगलादेशी र एक भारतीयलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्ने भारतीय नागरिक जिहाद हवलदारले सांसद अनारलाई पहिले बेहोस बनाउने औषधि प्रयोग गरेर हत्या गरिएको र त्यसपछि शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका थिए।

उनले हत्याको मुख्य योजनाकार बंगलादेशी मुलका अमेरिकी नागरिक व्यवसायी मोहम्मद अख्तरज्जमान रहेको बयान दिएका छन्। उनीहरू मुख्य अभियुक्त भनेका अख्तरज्जमान नेपालकै विमानस्थल प्रयोग गरेर अमेरिका पुगिसकेको खुलेको छ।

उनी २१ मे मै नेपालबाट अमेरिका पुगिसकेको तथ्य फेला परेको छ। सांसद अनार, नेपालमा पक्राउ परेका हुसेन र अमेरिका फरार भएका अख्तरज्जमान सुन तस्करीमा संलग्न रहेको खुलेको छ। उनीहरू दुबईबाट बंगलादेशमा सुन तस्करीमा संलग्न रहेको र यही विषयमा बिबाद हुँदा हत्या भएको भारतीय प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

यो पनि,

कोलकत्तामा बंगलादेशी सांसदको हत्याका मुख्य अभियुक्त काठमाण्डौंबाट पक्राउ, अन्यको खोजी हुँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट