माओवादी सांसद आफैंले टिकटकमा हालेको ‘चुम्बन भिडिओ’ शेयर गर्दा राप्रपाका युवा नेता पक्राउ

राजधानी– नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङ ल्यामु लामाले आफैंले टिकटकमा राखेको भनिएको चुम्बन भिडिओलाई फेसबुकमा शेयर गरेको निहुँमा राप्रपाका एक युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ।
राजनीतिक र सामाजिक सञ्जाल दुबै क्षेत्रमा बहस चर्काएको यो घटनामा राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेशबहादुर बडु (बाग)लाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर साइबर ब्युरोले घट्नाका विषयमा अनुसन्धान अघि बढाएको छ।
ब्युरोका अनुसार यो विषयमा सांसद लामाले नै ‘आफ्नो चरित्र हत्या गरेको’ दाबी गर्दै उजुरी दिएकी थिईन। उजुरीका आधारमा प्रहरीको साइबर ब्युरो सक्रिय भयो। तर बागले भने कुनैपनि भिडियो बनाएको वा सम्पादन गरेको होइन, बरु सांसदकै टिकटक अकाउन्टबाट पोस्ट भएको भिडिओलाई फेसबुकमा मात्र शेयर गरेको दाबी गरेका छन्।
उनको भनाइ अनुसार असार १९ मा उनले ‘chiring12sep’ नामको टिकटक अकाउन्टबाट सार्वजनिक भएको भिडिओ हेरे र ‘के हो यस्तो?’ भन्दै आफ्नो वालमा पोस्ट गरे। भिडिओमा सांसद लामा एक युवकसँग सार्वजनिक ठाउँमा ओठमा चुम्बन गरिरहेको देखिन्छ।
स्रोतका अनुसार भिडिओ पोस्ट भएको टिकटक अकाउन्ट सांसद लामाकै व्यक्तिगत अकाउन्ट भएको देखिएको छ। अहिले त्यो अकाउन्ट बन्द गरिएको छ।
विवादित चुम्बन तस्बिर र समाचार जनआस्थाले समेत छापेको थियो। तर सांसद लामाले उक्त पत्रिकाविरुद्ध कुनै उजुरी दिएकी छैनन्। उल्टो भिडिओ शेयर गर्ने बागलाई पक्राउ गरिएपछि धेरैले प्रहरीमाथि राजनीतिक दबाबमा काम गरेको आरोप लगाएका छन्।
राप्रपाले यसलाई असंवैधानिक कदम र अभिव्यक्ति स्वतन्त्रताको घोर उल्लंघन भनेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले वक्तव्य जारी गर्दै भनेका छन, ‘सांसद आफैंले सार्वजनिक मञ्चमा पोस्ट गरेको भिडिओलाई कुनै हेरफेर नगरी शेयर गर्नु अपराध होइन। सांसदकै टिकटकबाट आएको भिडिओ शेयर गरेको कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता माथि ठाडो प्रहार हो।’
राप्रपाले रमेशबहादुर बागको अविलम्ब र बिना सर्त रिहाइको माग गर्दै घटनाले लोकतन्त्रको मजाक बनाएको आरोप लगाएको छ।