अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना, टेकअफ लगत्तै विमान जमिनमा खसेर आगो लाग्यो

काठमाडौँ– भारतको अहमदाबादमा एअर इण्डियाको लन्डन जाँदै गरेको बोइंग ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको छ।
विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै मेघानीनगर नजिक खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मेघानीनगर विमानस्थलबाट करिब १५ किलोमिटर टाढा पर्छ।
दुर्घटनापछि घटनास्थलबाट बाक्लो कालो धुवाँ निस्किएको देखिएको थियो। स्थानीय बासिन्दाहरूका अनुसार उनीहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए र त्यसपछि विमान जमिनमा ठोक्किएर आगलागी भएको थियो।
प्राप्त प्रारम्भिक विवरणहरूमा यात्रु संख्यामा अन्योल देखिएको छ। केही रिपोर्टहरू अनुसार विमानमा करीब १३० जना यात्रु थिए भने समाचार एजेन्सी एएनआईका अनुसार २४२ जना यात्रु सवार थिए। विमान ११ वर्ष पुरानो रहेको जनाइएको छ।
प्रारम्भिक जानकारी अनुसार विमानले टेक अफ गरेपछि प्राविधिक समस्या देखिएको र त्यसकै कारण नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
यद्यपि, दुर्घटनाको कारण आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। दुर्घटनापछि दमकलका सातवटा गाडी तुरुन्तै घटनास्थलमा पुगेका छन् र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। उद्धार टोली, प्रहरी र अन्य सुरक्षा निकायहरू पनि घटनास्थलमा परिचालित छन्।
स्थानीय प्रशासन र एअर इण्डियाले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेहरूको विवरण संकलनको प्रक्रिया पनि सुरु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका थप विवरण आउन बाँकी छ।