विद्यार्थी पक्राउको विरोधमा विराटनगरमा प्रदर्शन र चक्काजाम

विराटनगर– मोरङको रंगेली नगरपालिका कार्यालयमा तोडफोड तथा नगरप्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना विद्यार्थी पक्राउ परेपछि आक्रोशित विद्यार्थीहरुले आज विराटनगरमा चक्काजाम गरेका छन्।

कार्यालयमा तोडफोड तथा कार्यवाहक मेयर ढकप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शनसहित चक्काजाम गरेका हुन।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध गरेर पक्राउ परेकालाई छाड्न माग गर्दै प्रदर्शन गरेका हुन्। विद्यार्थीले केही समय सडक अवरुद्ध गरेका थिए।

बिहीबार दिउँसो रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि विद्यार्थीले दुर्व्र्यवहार गरेकोको प्रहरीको आरोप छ। विद्यार्थीले आक्रमण गर्दा ४ जना नगरप्रहरी सामान्य घाइते भएका थिए।

सोही आरोपमा प्रहरीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य दीपक यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी छ। तर, विद्यार्थीहरुले पक्राउ परेकालाई विनासर्त छाड्न माग गरेका छन्।

विद्यार्थी पक्राउको विरोधमा रंगेलीमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट