मामाको योजनामा भान्जाको घरमा लुटपाट, प्रहरी हवल्दारको नेतृत्वमा बनेको थियो ‘सीबीआई’ को लुटेरा टोली
काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटका ३५ वर्षीय डिल्ली राउतको घरबाट ४ असारको दिउँसै करिव २ करोड रुपैयाँ लुटपाट भयो। आफुलाई सीबीआई बताउँने ४ जनाको समुहले घरमा पसेर दराजमा राखेको करिव ३ करोड मध्ये २ करोड रुपैयाँ लग्यो।
तर, यसको विषयमा राउतको घर परिवारले प्रहरीमा उजुरी गरेन। घट्नाको तीन दिनपश्चात लुटपाटको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर, भक्तपुर हुँदै अपराध अनुसन्धान कार्यालयले आफनै तरिकाले अनुशन्धान थाल्यो।
घट्नाको अनुशन्धान गर्दा प्रहरी नै आश्चर्यमा पर्ने तथ्य फेला परेको छ। लुटपाटमा डिल्लीकै मामा कुलबहादुर खत्रीको योजना र प्रहरीका वहालवाला हवल्दारकै संलग्नता खुलेको छ। कुलबहादुर नै डर देखाएर डिल्लीलाई प्रहरीसम्म पुग्न नदिएको पनि अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले वताए।
घट्नामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे–२ का ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २ का ३१ वर्षीय भीम तामाङ र ३८ वर्षीय कृष्णबहादुर बोहरा तथा ओखलढुंगा मानेभञ्ज्याङ ३ का ३६ वर्षीय मुनाराज राई पक्राउ परेका छन्। पक्राउ परेका बोहोरा महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरीकै हवल्दार हुन्। उनकै परिचय पत्रको प्रयोग गरी सिबिआई भन्दै उनिहरु डिल्लीको घरमा पुगेका थिए।
योजनाकार भनिएका कुलबहादुर भने १ करोड ३५ लाख रुपैयाँ लिएर फरार भएका छन्। प्रहरीका अनुसार डिल्लीको घर दधिकोटस्थित एकान्त ठाउँमा छ। उनी क्रोएसियामा रहेका भाईसँग मिलेर नेपालीहरुलाई कामदारका रुपमा पठाउने एजेन्टको काम गर्छन। उनले प्रतिब्यक्ति ६ लाख रुपैयाँसम्म लिएर क्रोएसिया पठाउने गरेको खुलेको छ।
कुलबहादुर पनि भाञ्जासँग मिलेर कहिलेकाही कामदार पठाउने काम गर्थे। यसै क्रममा भान्जाले करोडौं रुपैयाँ नगदै घरमा राख्ने गरेको उनलाई थाहा थियो। एक अनुशन्धान अधिकृतका अनुसार यहीँबाट लुटपाटको योजना बनेको देखिएको छ।
कामदार विदेश पठाउने सिलसिलामै चिनजान भएका सुजन रसाइलीसँग कुलबहादुरले लुटपाटको योजना सुनाउँछन्। यसअघि २०७६ सालमा पनि नक्कली सुन देखाएर ठगी गरेको आरोपमा मुद्दा खेपेका सुजनले उनको योजनामा सहमति जनाउँछन् र यही कुरा भीमलाई सुनाउँछन्। भीमले मुनाराज र कृष्णलाई सुनाएपछि पैसा लुट्ने कुरामा सवैको सहमति वन्छ।
३ असारमा उनीहरु डिल्लीको घर आसपासमा गएर रेकी गर्छन र भोलिपल्ट कौशलटारको लाइभ बर्गर र पिज्जा पोइन्टमा बसेर लुटपाटको योजना बनाउँछन्। नम्बर प्लेट चिन्न नसकिने गरी बा.प्र ०२–०४० प ५५३८ र बा.प्र ०२–०३३ प ६१७४ नम्बरका २ वटा पल्सर मोटरसाइकल लिएर डिल्लीको घर पुग्छन्। सुजनले बाहिर बसेर निगरानी गरेको र ३ जना भित्र पसेर लुटपाट गरेको प्रहरीले जनाएको छ।
घरभित्र पसेकाहरुले ‘हामी ‘सीआईबी हौ। अवैध धन्दा चलाएको भन्ने सूचना छ। खानतलासी गर्छौं।’ भन्दै एउटा कागजमा हस्ताक्षर गराउँछन्। त्यसपछि करिब २ करोड रुपैयाँ झोलामा हालेर गोकर्णेश्वर नगरपालिका–४, माकलबारीस्थित भीमको कोठामा पुग्छन्।
भीमकै कोठाबाट पैसाको बाँडफाड हुन्छ। करिब आधा रकम कुलबहादुरले लिएपछि ३० लाख सुजनले र २०/२० लाख ३ जनाले भाग लगाउँछन्। त्यसपछि कुलवहादुर फेरी भान्जाको घरमा पुग्छन्। भान्जाले लुटपाटको वेलिविस्तार लगाएपछि ‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट गर्यो भने फसिन्छ’ भन्दै भाञ्जालाई डर देखाउँछन्।
डराएका डिल्लीले घरमा बाँकी रहेको मध्ये पनि ३५ लाख रुपैयाँ कुलमानलाई दिएर पठाउँछन्। यसरी लुटेको सहित १ करोड ३५ लाख रुपैयाँ लिएर कुलबहादुर हालसम्म फरार छन्। अन्य ४ जना भने रकम बाँडफाँटपछि विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ। सुजन र भीम सुकुटे रिसोर्ट, तातोपानी र फेरि दोलखा, कालिन्चोक घुमेर फर्केका थिए।
प्रहरीले उनीहरुलाई ७ असारमा पक्राउ गरेर सोधपुछ गरेपछि महाराजगञ्जबाट कृष्ण र ओखलढुंगाबाट मुनाराज पक्राउ परेका छन्। पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
यो पनि,
